अरे यार कति लफडा ? जता हेर्यो त्यतै लफडा । कहिलेकाहीँ त कन्टिर–बाबू अनेकन लफडा हेर्दा–हेर्दा वाक्कदिक्क हुन्छन् । तर दिक्क मानेर भयो ? भागेर जानु त कहाँ जाने ?
अरे अहिलेको लफडा नागरिकतासम्बन्धी अध्यादेशको हो । सर्वोच्च अदालतले यो अध्यादेश कार्यान्वयन नगर्नू भन्ने आदेश दिइहाल्यो । तपाई सोध्नुहोला सर्वोच्चले आदेश दिनुमा के बात भयो त ? कन्टिर–बाबू भन्छन्– अरे यार, बातै यसैमा छ ।
विगत तीन वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयकलाई छलेर हतारहतारमा अध्यादेश ल्याउने अनि यसै नाममा मधेसियाहरू सत्तामा गइहाल्ने कुरामा त कन्टिर–बाबू पूरापूरा योजनाबद्ध खेल देख्छन् ।
यसभन्दा पहिले पनि अदालतले नागरिकता कानुन सम्बन्धमा आफ्नो मत सुरक्षित राखेको कुरा हाम्रा ओल्बा र ‘राम’हरूलाई थाहा थिएन र ? अरे ‘राम’हरूले साँच्चै दीर्घकालीन समाधान खोजेका हुन् भने यो कानुन संसदबाटै ल्याउन जोड दिनुपर्थ्यो । तर सबैलाई सत्तामा जाने हतारो थियो, त्यसरी सोचिएन । कन्टिर–बाबू भन्छन्– यो त त्यस्तै चाला भयो, जस्तो भन्छन् नि, म कुटेजस्तो गर्छु आ तँ रोएजस्तो गर । आ यही नाममा हामी मिलेर खाउँ मुर्गा । आ दाइ त काले भाइ पनि काले, सुत्केरीको नाम लिई मुर्गा खान थाले ।
तपाई सोध्नुहोला कुन मुर्गा ? अरे त्यही जनता ! राजनीतिक हथकन्डाले सपनाको ह्याचरीमा बनाएको मुर्गा । कन्टिर–बाबूलाई थाहा छ– राजनीतिको दाउपेचमा एउटा कुरा बडा जबरजस्त हुन्छ । त्यो के भने, जनतालाई मुर्गा बनाउने मुद्दा बाँकी राखिरहने । लटकाइरहने ।
कन्टिर–बाबू सोच्छन्– यो नागरिकताका सम्बन्धमा पनि यही खेल भएको हो । ओल्बा र राम दुवै थरिलाई थाहा थियो कि अदालतले रोक्न सक्छ । यसो हो भने अहिले अध्यादेश ल्याएर जनताको सहानुभूति लिइहालौँ, आ पछि भनौँला हामीले त समस्या समाधान गर्न खोजेको हो तर अदालतले मान्दै मानेन ।
उनीहरूको थप रणनीति हुन सक्छ यति गर्दागर्दै चुनाव आइहाल्छ आ हामी पहिलाको जस्तै अघोषित रूपमा मिलेर चुनाव लडौँला । एक पक्षले नागरिकता विधेयकको विरोध गर्नेजस्तो गर्ने आ अर्कोले समर्थन ।
कन्टिर–बाबू भन्छन्– चुनावी मुद्दा त यथावत् रहने भयो । दुवै थरिले मिलेर जताततै मुद्दाको चारो खुब छर्ने भए । उनी थप भन्छन्– भएन त मुर्गा बनाउने आ मिलिमिली खाने कुरो !




















