काठमाण्डौं – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि कारबाहीमा परेका छन् । थापालाई पार्टीले पार्टी सदस्यबाटै निष्काशन गरेको छ ।
यसअघि पार्टीको कारवाही भए पनि सर्वोच्चबाट सांसद पदमा पुनर्वहाली भएका थापाले बिहीबार गण्डकी प्रदेशमा भएको विश्वासको मतदानमा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।
प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकले थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ । यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।




















