पोखरा – नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको आज निधन भएको छ ।
कोरोना संक्रमणका कारण उपचार गराई रहेका बास्तोलाको आज बिहान ३ः१० बजे निधन भएको हो । ७० वर्षका बास्तोलाको असामयिक निधन प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति दुःख ब्यक्त गर्दै शोक बक्तब्य जारी गरेको छ ।
समितिका महासचिव गो्विन्दप्रसाद सुवेदीद्वारा जाती शोक बक्तब्यमा ‘कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराईरहनुभएका अग्रज पत्रकार बास्तोलाको विहिबार विहान ३ः१० बजे उपचारको क्रममा पोखराको चरक अस्पतालमा निधन भएको खबरले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति स्तब्ध र मर्माहत भएको’ उल्लेख गरेको छ ।
रिजन अस्पतालमा उपचाररत बास्तोलाको स्वास्थ्थमा बुधबार थप समस्या देखिएपछि चरक अस्पतालमा भर्ना गरिएको थियो ।
समितिले जारी गरेको शोक बक्तब्यमा ‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको’ भन्दै ‘महासंघ गण्डकी प्रदेश समिति यस दूखद् क्षेणमा स्वर्गीय पत्रकार बास्तोला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ’ भनिएको छ ।
कास्कीको पुरञ्चौरमा वि.सं. २००८ सालमा जन्मिएर हाल पोखरा ५ मा बस्दै आएका स्वर्गीय बास्तोलाका २ श्रीमति, ३ छोरा र १ छोरी छन् । पोखरामा बसेर झण्डै ४ दशक पत्रकारिता गरेका स्वर्गीय वास्तोला पोखराकै माछापुच्छै एफएम, माइक्रो न्युज, आदर्श समाज दैनिक र स्वतन्त्र सन्देशमा सह सम्पादक देखी सम्पादक सम्मको भूमिका निर्वाह गरेका थिए ।
कोरोनाकै कारण गण्डकी प्रदेशमा ३ जना पत्रकारको निधन भएको छ भने ११७ भन्दा बढी पत्रकार संक्रमित भईसकेका छन् ।
कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ गण्डकी प्रदेश समितिले सम्भावित जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल समेत गरेको छ ।




















