गोरखा – गोरखा अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । मेडिकल सुपरिटेण्डेन्ट डा.शान्ति भुर्तेलको कार्यशैली राम्रो नभएको भन्दै तत्कालै हटाउन मा गर्दै आइतबार देखी कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।
मेसु डा.भुर्तेल गोरखा अस्पतालमा काम गर्न नभएर नम्बर कमाउने उद्वेश्यका साथ आएको अस्पताल कर्मचारी युनियनका अध्यक्ष चिजकुमार श्रेष्ठले आरोप लगाए । श्रेष्ठको टोलीले आज प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाइएको ज्ञापन पत्रमा अस्पताललाई ससक्त बनाएर लैजानुपर्छ भन्दा प्रमुखु भुर्तेलले आफु काम गर्न नभई नम्बर कमाउन मात्र आएको र काम गरेर को ठूलो हुन्छ भन्दै उल्टै प्रश्न गर्ने गरेको उल्लेख छ । ‘कोरोना महामारीमा मैले गोरखाबासीको स्वास्थ्य उपचारमा राम्रो काम गरे मैले के पाउछु भनेर उल्टै प्रश्न गर्ने नेतृत्वबाट अस्पतालले अपेक्षा गर्ने ठाउँ छैन, ज्ञापन पत्रमा भनिएको छ, ‘डा.भुर्तेलको असक्षम र बदमासी पूर्ण कार्यशैलीका कारण मातहातका सम्पूर्ण कर्मचारी मात्र हैन अस्पतालका सेवाग्राही समेत वाक्क भइसकेका छन्’ ज्ञापन पत्रमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा असक्षम नेतृत्वलाई तत्काल हटाएर कोरोना संक्रमणका बिरुद्ध जुध्न सक्ने खालको सक्षम नेतृत्वलाई जिम्मेवारी दिन समेत माग गरिएको छ । कोरोना महामारीका बेला गोरखा अस्पतालले अझ ससंक्त रुपले सामाना गर्नुपर्ने बेला उल्टै भुर्तेलले कर्मचारीलाई थर्काउने, धम्कीदिने र कोभिड बिरुद्ध लड्ने कुरामा कुनै चासो नलिने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मेसु डा.भुर्तेलको कार्यशैलीबाट अस्पतालका अधिकांस कर्मचारीहरु प्रताडित बनेको र अस्पताल लथालिङ्ग भई सकेको भन्दै तत्काल हटाउन माग गरिएको हो । कर्मचारी युनियनले बुझाएको ज्ञापन पत्रमा डा.भुर्तेलले अस्पतालमा आफ्नो प्राइभेट कम्पनी जस्तो गरी मनपरी निर्णय गर्ने गरेको, अस्पतालको गाडी नीजि प्रयोजनका लागि प्रयोग गर्ने गरेको, समयमा तलब सुबिधा उपलब्ध नगराएको कर्मचारीलाई नीजि काममा लगाउने गरेको प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।




















