वातावरण संरक्षणमा विश्वमै बडो आदरसाथ लिइने भारतका एक नागरिकको नाम हो– सुन्दरलाल बहुगुणा । बहुगुणा केही दिन पहिले महाप्रस्थान यात्रातर्फ गए । कन्टिर–बाबूको यिनीप्रति बडो आदर–सम्मान छ ।
वास्तवमा कन्टिर–बाबू यिनका जबरजस्त फ्यान हुन् र उनको कार्यबाट कन्टिर–बाबू बडो प्रभावित छन् । वातावरण संरक्षणका सन्दर्भमा यिनको सर्वाधिक महत्त्वपूर्ण योगदान हो रुख–बिरूवाको संरक्षण । यिनले रुख काट्नु हुँदैन, यसलाई जोगाउनुपर्छ भन्ने विशेष अभियान नै चलाए, जसमा यिनी धेरै हदसम्न सफल पनि भए । रुख–बिरुवा संरक्षणका सवालमा यिनले चलाएको एक आन्दोलन विश्वप्रसिद्ध भयो, जसको नाम थियो– चिपको आन्दोलन । चिपको शब्दको अर्थ रुखसँग चिप्किएर (टाँसिएर) रुख जोगाउने, कसैलाई काट्न नदिने । विशेषतः भारत उत्तराखण्डमा उनको आन्दोलन अत्यन्त सफल रह्यो ।
चिपको आन्दोलनको सकारात्मक प्रभाव संरक्षणप्रेमी नेपाली युवाहरूमा पनि पर्यो । पञ्चायती सत्ताले काट्न ठिक्क पारेका धेरै रुखहरूको ज्यान बचायो ।
नेपालमा अहिले चुरे संरक्षणको सन्दर्भ बडो चर्चामा छ । कान्टिर–बाबूलाई लाग्छ यतिबेला तराई–मधेसको लाइफलाइन चुरे र यहाँका रुख–बिरुवाको जीवन सङ्कटमा छ । र, यहाँ पनि यस्तै आन्दोलनको जरूरी छ । बहुगुणाकै शैलीमा यहाँ ‘चिपको चुरे’ अभियान चलाउन युवाहरू जुर्मुराउनुपर्ने आवश्यकता छ ।
भारतका सन्दर्भमा चिपको आन्दोलनपछि वातावरण संरक्षण कानुन नै बनाइयो र अत्यन्त कडाइका साथ लागू पनि गरियो । पछिल्ला दिनमा भारतमा वातावरण संरक्षण आन्दोलनमा मेनका गान्धीजस्ता नेत्री र नेता पनि जोडिए ।
तर नेपालमा चुरे संरक्षणका सवालमा नेताहरूकै भूमिका शङ्कास्पद छ । यहाँ त अधिकतर नेता चुरेलाई कमाउ धन्दाको भरपर्दो साधन बनाउनु छ । सरकार पनि त्यस्तैको हित संरक्षणमा जुटेको देखिन्छ । अब पछिल्लो सत्ता समीकरणकै हालत हेर्नुहोस् । यस समीकरणको पनि चुरेप्रति गिद्धे दृष्टिकोण छ भन्ने कन्टिर–बाबूको प्रष्ट मत छ ।
कन्टिर–बाबू प्रष्ट देखिरहेका छन् नेपालमा रुख–बिरुवामा चिपको अभियानविरुद्ध सत्तामा चिपको अभियानको हालीमुहाली बढाइँदै छ । यस्तोमा कन्टिर–बाबूको मनमा एक प्रश्न उब्जिएको छ– सुपर–ग्लुु र फेबिकोलले चिप्काइएका चिप्कुहरू कहिलेसम्म सत्तामा चिप्किने होलान् ? यसको केही अवधि त होला नि ! हेरौँ, ओल्बा–ब्रान्ड सुपर ग्लु र फेबिकोलले कति काम गर्छ ?




















