अहिले सामाजिक सञ्जाल र नेपाली मिडिया चुरेसम्बन्धी बहसले रङ्गिएको छ । कन्टिर–बाबू पनि के कम ? उनी आफ्नो बलबुताले भ्याएसम्म पहिलो दिनदेखि नै यस बहसमा निरन्तर सहभागी छन् ।
उनी त सहभागीमात्र छैनन्, चुरे संरक्षणका लागि ‘सेभ-माई-चुरे’ ह्यास ट्याग अभियान पनि चलाउन खोजिरहेका छन् । कतिपयले यसलाई कन्टिर–बाबूले आफ्नो प्रचार गर्न खोजेको आरोप लगाउलान् । तर यसले कन्टिर–बाबूलाई खासै फरक पर्दैन ।
अरे चुरे खोस्रेर खान पल्केकालाई त केही फरक पर्दैन भने चुरे जोगाउँ भन्ने कन्टिर–बाबूविरुद्ध हुने बाह्र–सत्ताइस कुराको अर्थ नै के हुन्छ भन्या ?
चुरेको जारी र सम्भावित थप विनाशलीला प्रकरणमा कन्टिर–बाबू चुरे संरक्षणमा चासो हुने सबैलाई विनाशविरुद्ध अभियानमा जोडिन आग्रह गर्छन् । यससम्बन्धी विशेष जानकारीहरू प्रदान गर्न र चुरे बचाउ अभियानलाई प्रभावकारी बनाउनका लागि सहयोग गर्न अनुरोध गर्छन् ।
त्यसो त पैसाका लागि जे पनि खाने गरेका छन् दुष्टहरूले । ढुङ्गा, गिट्टी, बालुवा झन् के अछुतो हुन्थ्यो । खाने गरेकै हुन् पहिले पनि । तर पहिला–पहिला लुकाएर, चोरेर खान्थे । अबचाहिँ हाकाहाकी, दिनदहाडै डकैती गरेर हसुर्न खोजेका हुन् । अभियानकर्मी कन्टिर–बाबू र मित्रहरूको उद्देश्य ढुङ्गा चपाउनेका दाँत भाँच्नु रहेको छ ।
कन्टिर–बाबूलाई थाहा छ– पहिले भारतमा रेलको लिक ओछ्याउने काठका लागि तराईको चारकोसे झाडीभित्रका सखुवा र साज राजनीतिक आडमा सखाप पारे । अहिले त्यही नजिर पछ्याउँदै भारत, बिहारमा नयाँ संरचना निर्माणका लागि ढुङ्गा–गिटीमा प्रयोग गर्न खोज्दै छन् ।
लुटेराहरू चुरेको माल भारत निकासी गर्न पहिलेदेखि पल्केका छन् । कन्टिर–बाबूको उद्देश्य संरक्षण अभियानमा भारतीय सीमावर्ती क्षेत्रका बासिन्दालाई पनि जोड्नु हो । अरे यार, तिनले कस्तो नबुझेका ! चुरे सकिँदा त सीमावर्ती क्षेत्रका भारतीयहरू पनि कहाँ सुरक्षित रहन सक्लान् र । पानी तिनलाई पनि चाहिने हो, खेतीयोग्य जमिन तिनलाई पनि चाहिने हो । यो सबैको आधार त उही चुरे नै हो ।
समयमै नचेत्ने हो भने भविष्यमा सीमाछेउका, दुवैतिरका बासिन्दा प्रभावित हुने निश्चित छ । यस विषयमा पछि कसैले कन्टिर–बाबूले समय छँदै चेताएनन् भन्न नपाइ ।




















