गोरखा – गोरखाको बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा कोभिडका बिरामीहरुको आपतकालिन उपचारको लागि ९ वेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।
पालिका अध्यक्ष बिष्णुप्रसाद भट्टका अनुसार संक्रमितलाई आपतकालिन उपचार गरिहाल्नु पर्ने अबस्था आए वा सुबिधा सम्पन अस्पतालमा पुरयाउनु अघिको अवस्थाको लािग अस्थायी अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
अस्थायी अस्पतालमा १ जना चिकित्सक, १ जना स्टार्फ नर्स र १ जना हेल्थ असिस्टेण्डको ब्यवस्था गरिएको जिल्ला कोभिड ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार समितिको मंगलबारको बैठकले उत्त स्थानमा अस्थायी अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थकर्मीहरुको ब्यवस्था गर्ने निर्णय समेत भएको छ ।
एउटै बस्तीमा ११ सय भन्दा बढी घर भएका कारण र बारपाकमा कोरोना संक्रमणदर उच्च भएकाले कुनै पनि दिन समस्या आउन सक्ने भन्दै पालिकाले पूर्व तयारी स्वरुप ९ वेडका अस्थायी अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । उत्त गाउँमा जेष्ठ १४, १५ र १६ गते गरिएको परिक्षणमा २७६ जनामा संक्रमण पुष्टी भएको थियो ।




















