बुटवल – लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय ४१४० मत भार पाएर विजयी भएका छन् ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । खड्काले ३६१२ मत भार पाएका थिए ।
निर्वाचन आयोगका अनुसार पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । त्यस्तै गरी प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।




















