प्राध्यापक, साहित्यकार राजेन्द्र विमलले तुक्तक शीर्षक दिएर सामाजिक सञ्जालमा पोस्ट्याएका उल्लिखित पंक्तिहरूले कन्टिर–बाबूलाई निकै प्रभावित बनाएको छ । प्रभावित बनाएको छ मात्र होइन, मन छोएको छ । अझ मन छोएको मात्र छैन, मुटुमै लागेको छ ।
गुरूदेव विमलका यी पंक्ति समसामयिक नेपाली राजनीतिक नेताहरूको व्यवहार विश्लेषणका सन्दर्भमा यति शक्तिशाली छन् कि कन्टिर–बाबूको मात्र होइन कसैको पनि मथिङ्गल निकैबेर घुमाउन सक्षम छन् । कन्टिर–बाबूका अनुसार वर्तमान राजनीतिक विकृतिप्रति जनताका मनमा रहेको आक्रोशको हुबहु प्रतिविम्बन हुन् यी पङ्क्तिहरू ।
मैथिलीमा एक फकरा चर्चित छ– हम अपन बडदके कुडहरिएसँ नाथब । नेपालीमा यसको अर्थ हुन्छ– म आफ्नो गोरूलाई बन्चरोले नै नत्थी लगाउँछु । बङ्गालीमा पनि यस्तै एउटा उखान सुनेका छन् कन्टिर–बाबूले । आफूखुसी गर्न मन लागेका बेलामा बङ्गालीहरू भन्छन्– आमोर छागोर आगे से काटी कि पिच्छु से तोमार की ? अर्थात् मेरो खसी अगाडिबाट काटौँ कि पछाडिबाट, तिमीलाई केको खसखस ?

अहिलेको नेपाली राजनीतिमा सत्तासञ्चालकको हैसियतमा रहेकाहरू यस्तै खालका अनपेक्षित तथा हास्यास्पद सोचबाट निर्देशित रहेको कन्टिर–बाबूको ठम्याइ छ । पछिल्लो पटक सोचविरूद्ध एक सय ३९ जना सांसद (पूर्व)हरू सर्वोच्च अदालत प्राङ्गणमा निहत्था ‘परेड’ खेल्न बाध्य भए । यो नेपालको इतिहासमा मात्र होइन विश्वमै लोकतान्त्रिक आन्दोलनको इतिहासमा अभूतपूर्व घटनाका रूपमा स्वीकार हुनेमा दुई मत छैन ।
सर्वोच्च परिसरमा सांसदहरूको यो बाध्यात्मक परेड खेलाइले सायद सत्ता सञ्चालकहरू सम्भवतः तिरमिराएका छन्, त्यसैले त उनीहरू एकपछि अर्को उलुलजुलुल प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
बहुमत सांसद एक ठाउँमा हुँदा पनि नैतिक पराजय स्वीकार नगरेर सत्तामा टाँसिइरहने हो भने साहित्यकार विमलकै शैलीमा प्रश्न गर्ने त होला नि– कसैले नैतिकता पोलेर खान्छ, मेरो फादरलाई के ?
koshionline




















