गोरखा – डिसिसिएमसीले जिल्लामा निषेधाज्ञाभरी बाहिरी जिल्लाबाट तरकारी ढुवानी गर्न लगाइएको रोक फुकुवा गरेको छ ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले तरकारी ढुवानीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
जिल्ला भित्र तरकारीको अभाव हुन नदिन बाहिरी जिल्लाबाट ढुवानी गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताए ।
यसअघि गत बैशाख ३० गते बसेको केन्द्रको बैठकको निर्णय अनुसार जिल्ला प्रसासन कार्यालयले संक्रमण फैलने क्रम बढेको भन्दै जेठ १५ गतेसम्मका लागि बाहिरी जिल्लाबाट ढुवानीका लागि रोक लगाएको थियो ।




















