गोरखा – गोरखामा बिहिकार एकै दिनमा २२३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ६ वटा स्थानिय तहमा पिसिआर र एन्टिजेन परिक्षणका क्रममा २२३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार गोरखा नगरपालिकामा २५ जना, आरुघाट गाउँपालिकामा ६७ जना, शहिद लखन गाउँपालिकामा ९ जना, बारपाक सुलिकोट गाउँपालिकामा ९९ जना, अजिरकोट गाउँपालिकामा ८ जना र सिरानचोक गाउँपालिकामा १५ जनामा संक्रमण देखिएको हो । यो संगै गोरखामा सक्रिय संक्रमितको संख्या ८८३ जना पुगेको छ ।
जिल्लामा अहिले पिसिआर र एन्टिजेन दुवै प्रविधी मार्फत कोरोना परिक्षणका लागि स्वाब लिने काम भई रहेको छ । कार्यालयले उपलब्ध गराएको रकर्ड अनुसार पिसिआर मार्फत १३१ जनामा संक्रमण देखिएको हो भने एन्टिजेन मार्फत ९२ जनामा संक्रमण देखिएको हो ।
कार्यालयले दिएको विवरण अनुसार गोरखा नगरपालिकामा पिसिआर मार्फत १५जना महिला र ८ जना पुरुष तथा गोरखा अस्पतालमा गरिएको एन्टिजेनमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी आरुघाट गाउँपालिकामा पिसिआर मार्फत ३१/३१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने एन्टिजेन मार्फत १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये सबै भन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा देखिएको छ । यहाँ पिसिआर मार्फत १७ जना महिला र ३० जना पुरुष तथा एन्टिजेन मार्फत १९ जना महिला र ३३ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
यता शहिल लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा भने पिसिआरको रिर्पोटमा संक्रमण नदेखिएको तर एन्टिजेन मार्फत स्वाब परिक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको छ । जस मध्ये शहिद लखनमा ५ महिला र ४ पुरुषमा, अजिरकोटमा ३ महिला र ५ पुरुष तथा सिरानचोकमा ८ महिला र ७ पुरुषमा संक्रमण देखिएको हो ।
गोरखाको धेरै जसो स्थानमा समुदाय स्तरमा नै कोरोना संक्रमण फैलि सकेको छ । यसको नियन्त्रणमा सरोकारवालाहरुले प्रभावकारी भूमिका खेल्न नसकेको खण्डमा कुनै पनि दिन ठुलै धनजनको क्षेति ब्यहोनुपर्ने अवस्था आउने निश्चित छ ।




















