गोरखा – गोरखा नगरपालिका १२ को रानीटार क्षेत्रमा संकलित स्वाब मध्ये मङ्गलबार ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका १२ को रानीटार क्षेत्रमा बैशाख २८ गते १ जना युवकको मृत्यु भए पछि ८९ जनाको स्वाब संकलन गरिएकोमा ३७ जनामा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालका अनुसार मृत्तक संग भेट भएका मानिसहरुको स्वाब संकलन गरि पठाइएको ८९ स्वाब मध्ये ३७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये वडा नम्बर ४ मा १ जना , १० मा ३ जना, ११ मा १३ जना र १२ मा २० जना रहेका छन् ।
संक्रमित मध्ये सबै भन्दा बढी कुमाल समुदायका मानिसहरु रहेका छन् । कुमाल समुदायका २१ जना संक्रमित भएको स्वास्थ्य शाखाले जनाएको छ ।
वडा नम्बर १ र २ मा ८६ जनाको स्वाब संकलन
गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले आज नगरपालिका भित्रको वडा नम्बर १ र २ मा गरी ८६ जनाको स्वाब संकलन गरेको छ ।
स्वाब संकलन गरिएका मध्ये ४९ जना पुरुष र ३७ जना महिलाको रहेको कार्यालयले जनाएको छ ।
जस मध्ये कन्ट्याक्ट ट्रेसिङमा परेका ३५ जना र ५१ जना सामान्य मानिसको स्वाब संकलन गरिएको अधिकृत अर्यालले बताए ।




















