कन्टिर–बाबू मानसिक रूपमा हिजोआज बडो तनावग्रस्त छन् । आखिर उनी पनि कलमजीवी हुन् र पत्रकारितासँग उनको घनिष्ठ साइनो छ । अहिले उनको तनावको कारण जनताको सूचनाको अधिकारका लागि जस्तोसुकै परिस्थितिमा पनि अग्रमोर्चामा खटिने पत्रकारको सुरक्षासँग सम्बन्धित छ ।
कोरोनाका कारण एकपछि अर्को क्रियाशील पत्रकारहरूको मृत्यु हुन थालेको घटनाले कन्टिर–बाबू स्तब्ध बनेका छन् । अनपेक्षित यस घटनाबाट पाठ सिकेर बाँकी पत्रकारलाई कसरी सुरक्षित पार्ने ? भन्ने सवाल यतिबेला कन्टिर–बाबूका लागि मुख्य प्राथमिकता र चिन्ताको विषय बनेको छ ।
नेपाल पत्रकार महासङ्घका अनुसार कोरोनाका कारण नेपालमा १३ जना पत्रकारको मृत्यु भइसकेको छ भने सात सय ५० जनाभन्दा बढी पत्रकार सङ्क्रमित छन् । यो निकै डरलाग्दो तथ्याङ्क हो ।
पत्रकारलाई कोरोनाका सन्दर्भमा विश्वभरि नै पहिलो पङ्क्तिका ‘डिफेन्डर’ मानिएको छ । राज्यबाट सोहीअनुकूल केही सुविधा दिने प्रयत्न पनि भएको छ । तर कसै–कसैलाई नेपालमा पत्रकारलाई सुविधा दिने कुरा मन परेको छैन ।
यतिबेला स्वास्थकर्मी र सुरक्षानिकायका व्यक्तिभन्दा एक कदमअगाडि बढेर पत्रकारहरू फिल्डमा खटिएका छन् । तर विडम्बना पत्रकारलाई खोप लगाउने कुराको पनि सामाजिक सञ्जालतिर विरोध भएको देखियो । यस्तो मनसाय राख्नेहरूलाई कन्टिर–बाबू च्व–च्व भन्नुबाहेक केही टिप्पणी गर्न चाहँदैनन् ।
कोरोना कहर र लकडाउनका समयमा सबै जना घरमा रहेका बेला पत्रकारहरू फिल्डमा खटिएर सर्वसाधारणलाई सुसूचित गर्दाचाहिँ खुसी हुने अनि यस कार्यका लागि अलिकति सुरक्षाको कुरा गर्दा भने सार्वजनिक दुःख–मनाउ गर्ने ? कन्टिर–बाबूलाई यस्तो ‘स्याडिस्ट’ तरिका बिल्कुल मन पर्दैन ।
प्रश्न उठ्छ– जब ज्यान नै जोखिममा पर्छ भने त्यस्तो पत्रकारिता किन गर्ने ? यसमा कन्टिर–बाबू थप सोचिरहेका छन्– पत्रकारले पत्रकारिता गर्ने भनेकै जनसामान्यका लागि हो । तर तिनै जनसामान्य पत्रकारको सुरक्षाबारे संवेदनशील हुँदैनन् भने सूचना नभए पनि हुन्छ भन्ने मान्यता राख्छन् भने किन र कसका लागि गर्ने पत्रकारिता ?
तर यस्तो सोच क्षणिक घटनाबाट उत्पन्न आवेगयुक्त र गलत हो भन्ने कुरा कन्टिर–बाबूलाई थाहा छ । अरे त्यो त कम्मल ओढेर ‘तर’ मार्नेहरू हुन्, जो यो बेलामा पत्रकार सक्रिय नहोउन् र आफूहरूको ब्रम्हलूट चलिरहोस् भन्ने चाहन्छन् । हो, तिनैले हो पत्रकारको विरोध गर्ने ।
पत्रकारले यो अप्ठेरो बेलामा पनि भ्रष्टाचार, चलखेल गर्ने व्यक्तिलाई नङ्ग्याउन थोरथार जोखिम त लिनैपर्छ । त्यसैले कन्टिर–बाबू आम पत्रकारहरूलाई आग्रह गर्छन्– साथीहरू फिल्डमा त खटिनु होला तर सँगसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला ।
पत्रकारको ज्यान रहे न स्कुप र ब्रेकिङ समाचार आउलान्, देश र समाज लाभान्वित होलान् । तर समाचार खोज्ने नाममा केही तल–माथि भयो भने भविष्यमा समाजले प्राप्त गर्नसक्ने अनेकौँ स्कुप र ब्रेकिङ समाचारको मुहान नै बन्द हुन बेर लाग्दैन ।
यस सन्दर्भमा कन्टिर–बाबू प्रचलित नेपाली उखान सम्झिँदै भन्छन्– जिउ रहे घिउ खाने हो । बाँस रहे न बाँसुरी बजाउने हो ।
koshionline




















