गोरखा – महामारीका बेला कालो बजारी नहोस भनेर सरकारी तथा सरोकारवालाहरुले आज गोरखा बजार क्षेत्रमा संयुत्त रुपमा बजार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा अधिकाशं पसलहरुमा मिति गुज्रिएका पेय पदार्थहरु फेला परेको अनुगमन जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गणेशप्रसाद भट्टराईले बताए ।
प्रशासन कार्यालयले महामारीको यो बेला बजारमा दैनिक उपभोग्य बस्तुको अवस्था र मुल्यका बिषयमा अनुगमन गर्नुका साथै बिक्री गर्न राखिएका सामानहरुको उपभोग्य मितिको पनि अनुगमन गरिएको अधिकृत भट्टराईले जानकारी दिए ।
नियम विपरीत सामान बेच्ने पसलेलाई पहिलो ७ दिन सुध्रिनका लागि अनुरोध गरिएको त्यस पछि पनि त्यस्तै पाईएमा कानूनी कारवाहीको दायरमा ल्याउने अधिकृत भट्टराईले बताए ।
घरेलु तथा साना उद्योग बिकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गोरखा नगरपालिका, खाद्य कम्पनी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले गरेको अनुगमनका क्रममा अधिकाशं पसल तथा थोक बिक्रेताहरु कहाँ मिति गुज्रिएका पेय पदार्थ फेला परेको र त्यस्ता सामान मुचुल्का गरी जफत गरिएको छ ।
२१ वटा तरकारी, माछामासु, किराना र थोक बिक्रेताको अनुगमनमा खाद्य र अखाद्य बस्तु मिसावट गरि राखीएको, किराना पसलको सामान संग रक्सी तथा पशु पंक्षिले खाने दाना संगै राखेको, ठुला ब्यापारीका गोदामहरु अत्याधिक फोहर भएको पाईएको अनुगमनमा सहभागी गोरखा उद्योग बाणिज्य संघका प्रतिनिधीले बताए ।
साथै आजै गोरखा अस्पताल छेवैमा रहेको अन्सु माछा पसलको अनुगमनमा पटक पटक सडेगलेको माछा बिक्री गरेको भन्दै पसल नै बन्द गर्न अनुमगन टोलीले सुझाव दिएको गोरखा नगरपालिका ध्रुव घिमिरेले जानकारी दिए ।




















