‘वो चैन से सो रहे हैं शहर बेचकर ।
कोई सुहाग बचा रहा है जेवर बेचकर ।
बाप ने उम्र गुजार दी घरोंदे बनाने में,
बेटा उसकी सांसे खरीद रहा घर बेचकर ।
बर्बाद हो गए कई घर दवा खरीदने में,
कुछ लोगों की तिजोरी भर गई जहर बेचकर ।’
सामाजिक सञ्जालमा भाइरल भइरहेको विजय ठाकरेको यस रचनाले कन्टिर–बाबूको मथिङ्गल नचाएको छ । र केही सोच्न बाध्य बनाएको छ ।
त्यसो त कपी–पेस्ट गरिएको उल्लिखित अवस्था र सन्दर्भ भारतको हो । तर विचार गरी हेर्दा यताको प्रेस काउन्सिलले हुबहुको बात लगाए पनि नेपालको अवस्था दुरूस्त उही छ ।
धेरैले आफन्त गुमाउने कारण बनेको यो काल कोरोना केहीका लागि भने माल कमाउने माध्यम बनेको छ । नेपालकै कुरा गर्ने हो भने कमिसनको चोप लगाएर खोपलाई बल्झाउने काम गरिएको कसैबाट लुकेको छैन । त्यस्ता असत्तीहरूले भोलि समाजमा कसरी अनुहार देखाउलान् ? कि कसो ‘दुर्वैध’हरू ?
कुरो यतिमात्र होइन नेपालका अस्पतालहरूको धन्दा पनि ‘कमाउ’ बनेको छ । थोकका भाउमा त्यस्ता अस्पतालले उपचार नगर्ने भन्ने फरमान जारी गरेका छन् । एक त पहिले नै जिन्दगीभरिको कमाइले बनाएको घर उपचारपछि अस्पतालवाट फर्किँदा नरहने अवस्था थियो । त्यसमाथि अब त्यै उपचार पनि नपाउने रे !
कन्टिर–बाबू भन्छन्– सरकारको त झन् के कुरा गराइ भो र ! सरकार त राजनीतिक भ्यागुताको धार्नी पुरयाउने सकसमै अलमलिइरहेको छ । उसका लागि मान्छेको शवको धार्नीको के मूल्य ? सरकारका लागि मान्छेको लासभन्दा सत्ताको सास जो महत्त्वपूर्ण छ । यस्तोमा आँखामा रतन्धो भएकाहरूबाट के आस गर्नु ?
यति बेला कन्टिर–बाबू सोचिरहेछन्– यो महामारीबाट कसैगरी सग्लो बाँचिएछ भने आउँदो चुनावमा यिनलाई देखाउने हो । अरू त के नै गर्न सकिन्छ र !
सँगसँगै कन्टिर–बाबूको मनमा यो प्रश्न पनि उठिरहेको छ कि हिजो सत्याग्रही डाक्टर गोविन्द केसी जनताको सहज पहुँच हुनेगरी सातै प्रदेशमा सुविधासम्पन्न सरकारी अस्पताल चाहिन्छ भनेर अनसन बस्दा पागल ठान्नेहरू यति बेला के गर्दै होलान् ? आज अस्पतालको खाटमा एक दिन सुत्न ३० हजार तिर्नुपर्दा, ३३ घण्टाको बिल ८८ हजार आउँदा अनि पाँच हजार तिर्छु भन्दा पनि अक्सिजन सिलिन्डर र रेम्डेसिभिर नपाउँदा के सोच्दै होलान् ?




















