गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज गोरखा नगरपालिकाको विभिन्न वडामा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
नगरपालिका ११ वटा वडामा बसोबास गर्ने ४५ जनामा संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेकोे हो ।
नगर क्षेत्र भित्र कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै केही दिन देखी पालिकाको स्वास्थ्य शाखाले सबै वडामा स्वाब संकलन कार्यलाई तिब्रता दिए संगै आज थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज संक्रमण देखिनेमा सरकारी कर्मचारी, प्रहरीको थुनुवा कक्षमा रहेका बन्दी देखी नगरपालिकाका स्वास्थ्यका कर्मचारीहरुमा पनि संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।
आज देखिएका मध्ये गोरखा नगरपालिका २, ३ र १४ मा १/१ जना, ५ र ७ मा २/२ जना, १० मा ३ जना र ११ मा ४ जनामा संक्रमण देखिएको हो । त्यस्तै गरी ६ मा ५ जना र ४ र १२ मा ६/६ जनामा संक्रमण देखिएको छ ।
आजै संक्रमण देखिएकाहरुमा अजिरकोट र सिरानचो गाउँपालिका घर भई सदरमुकाम बस्दै आएका १/१, पर्वत घर भई गोरखा सदरमुकाम बसेका १ महिला र भीमसेन थापा गाउँपालिका घर भई सदरमुकाम बसेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
आजै पालुङटार नगरपालिका र भीमसेन थापा तथा शहिद लखन गाउँपालिका ५५ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सहित गोरखामा ३५० जना सक्रिय संक्रमित बिरामी रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।






















