कन्टिर–बाबूले सामाजिक सन्जालमा भेटेका केही विवरणहरूका आधारमा निम्न संवाद तयार पारेका हुन् । एकपटक पढ्नुहोस् र प्रतिक्रिया दिनुहोस्– तपाईलाई कस्तो लाग्यो ?
‘यिनहरूको मृत्युलाई अभिलेखमा नराख्नू !’ यमराजले केही निरिह मृत मनुवाहरूतर्फ लक्षित गरी चित्रगुप्तलाई आदेश दिँदै भने ।
‘किन हजुर ?’ चित्रगुप्तले आश्चर्यचकित हुँदै यमराजलाई सोधे ।
‘यिनहरूको मृत्युको कारण म होइन,’ यमराजले आफ्नो आदेशको बचाव गर्दै भने, ‘यिनीहरू अहिले नै मर्ने कुरा हाम्रो लिस्टमा थिएन ।’
‘त्यसो भए यी कसरी मरेर यहाँसम्म आइपुगे त सरकार ?’ चित्रगुप्तको जिज्ञासा स्वाभाविक थियो ।
‘यिनको देशको सिस्टमको गडबडीले गर्दा यिनीहरू मरेका हुन्,’ यमराजले धरातलीय यथार्थ प्रष्ट पार्दै भने ।
‘कुन देश हो त्यो ?’ चित्रगुप्तले देशको नाम जान्न चाहे ।
‘उहिलेको अमरावती नगरी, नेपाल मण्डल अर्थात् अहिलेको सङ्घीय गणतन्त्र नेपाल,’ यमराजले भने ।
कन्टिर–बाबूले उल्लिखित संवाद किन र केका आधारमा बनाए होलान् भन्ने अनुमान त तपाईलाई अवश्य थाहा छ । देशमा कोरोना महामारीको सन्त्रास र सरकारको रवैयाका बारेमा योभन्दा पनि अझ सटीक र राम्रो संवाद तयार पार्न सकिन्थ्यो होला । कन्टिर–बाबू अर्को पटक योभन्दा राम्रो मजबुत र तर्कसहितको स्क्रिप्ट लेख्ने वाचा गर्दछन् ।
उल्लिखित संवादबारे कुनै प्रतिक्रिया दिनु नदिनु तपाईको मर्जी ! तर कन्टिर–बाबूको स्पष्ट मत छ– नेपालमा खाली सत्ता छ, शासनको कुनै सिस्टम छैन ।
नेपालमा शासन गर्ने भनिएका राजनीतिक दल र नेताहरू नौटङ्कीका पात्रमात्र हुन् । यहाँको सिस्टममाथि त राजनीतिक संरक्षणप्राप्त कमिसनखोर, लुटेराहरूको पकड छ भन्ने कुरा त खोपको कमिसन र त्यसबारे हाम्रा ओल्बाको घातक मौनताले प्रमाणित गरिरहेकै छ ।
koshionline




















