काठमाण्डौ – नेपाल प्रहरीले रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा गोरखाका रसिक मियाँलाई राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका घर भई राजधानी बस्दै आएका मियालाई बिहीबार पक्राउ गरेको हो ।
रसिकलाई एक सेट (६ भाइल) रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रेम्डेसिभिर औषधिको कालोबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिकले मोलतोल गरेर १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ ।
पक्राउ परेका रसिकले भने सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि ढकालको खोजी भई रहेको प्रहरीले जनाएको छ ।




















