गोरखा – गोरखा सदरमुकाममा नै बालिका बलात्कार गरी फरार भएका एक पुरुषलाई प्रहरीले लामो समय पछि पक्राउ गर्न सफल भएको छ ।
घर नजिकैको जंगलमा निउरो टिप्न गएकी एक बालिकालाई बलात्कार गरि फरार भएका गोरखा नगरपालिका ८ गैरी चौतारा निवासी ६५ बर्षका तुलबहादुर थापालाई प्रहरीले आज (बिहीबार) मझुवा देउराली क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो ।
भारत घर भई गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रमा बस्दै आएकी १४ बर्षिया बालिकालाई ललाई फकाई पटक पटक बलात्कार गरेर फरार भएका थिए । बालिकाले केही साता पहिला मात्रै बच्चा जन्माएकी छिन् ।
‘बालिका गर्भवती भएको कुरा सार्वजनिक हुनासाथ थापा भागेर भारत पुगेका थिए । पछिल्लो समय भारतमा कोरोना महामारी संगै थापा नेपाल आएको जानकारी पाउनासाथ प्रहरीले उनलाई पक्राउ गर्न विशेष टोली नै परिचालन गरेको थियो । सोही टोलीले आज थापालाई मझुवा देउरालीबाट पक्राउ गर्न सफल भएको थियो ।
२०७७ बैशाख ११ गते घर नजिकैको जंगलमा निउरो खोज्न गएकी बालिकालाई थापाले ललाई फकाई नजिकै रहेको गोठमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा परेकी बालिका अस्वभाविक मोटाउदै गएपछि परिवारले शंका लागेर सोधपुछ गरि स्वास्थ्य परीक्षण गराउदा बालिका ७ महिनाको गर्भवती भएको खुलेको थियो ।
बालिकाका बुबाले दोषीलाई कारवाहीको माग गर्दै गोरखा प्रहरीमा जोहरी दिएपछि थापा जिल्ला छोडेर फरार भएका थिए । अनुसन्धानका क्रममा बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको पुष्टी भएपछि थ्रि एन्जल्स नेपाल पोखराको सहयोगमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएको माघ १० गते बालिकाले छोरालाई जन्म दिएकी थिइन ।
पक्राउ परेका थापालाई आजै गोरखा जिल्ला अदालतमा उपस्थित गराइएको थियो । थापा गोरखाबाट भागेर भारतको गया स्थित १ नम्बर घुम्ती भन्ने स्थानमा गाई फार्ममा गार्डको रुपमा काम आएको खुल्न आएको छ ।




















