तपाई लेख्नुहुन्छ, मान्छे मार्ने डनले प्रधानमन्त्री नै पड्काउँदा चुपचाप स्वीकार गर्ने हामी मान्छे कुट्ने ‘डन’ मन्त्री हुँदा चाहिँ रोइलो किन गरिरहेका छौँ ? त्यसमा तपाई थप्नुहुन्छ, खगेन्द्र सङ्ग्रौलाभन्दा दीपक मनाङे प्रगतिशील छन् । कम से कम जनप्रतिनिधि त हुन् ।
तपाई लेख्नुहुन्छ, उम्मेदवारी दिन योग्य जोसुकै यदि जनताको मतबाट निर्वाचित हुन्छन्, भने लोकतन्त्रमा त्यो व्यक्तिलाई अपराधी मानिन्न । कुनै बेला राज्यले अपराधी भनेकाहरू, मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, बनेका एकपछि अर्का उदाहरण छन् ।
एक जना तपाईले त यस्तोसम्म लेख्नुभयो– नेपाली कमनिस्ट आन्दोलनका अथक योद्धा, सर्वहारा क्रान्तिका नायक तथा समाजवादी अभियन्ता कमरेड दिपक मनाङे गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको खबरले हर्षित छु । बधाई छ मनाङे कमरेडलाई !
कन्टिर–बाबू डाँकु रत्नाकर वाल्मीकि बनेको उदाहरण आवरणमा तपाई र तपाईहरूका काँचो–कचिलो तर्क–वितर्क जति पढ्छन् उति छक्क पर्छन् । अरे यार गुँड र गोबरमा आकाश–पातालको फरक हुन्छ । कहाँ राम राज्यको उदाहरण, कहाँ पृथ्वी राज्यको कुरा !
यदि तपाई कृष्ण करे तो चमत्कार हम करे तो बलात्कार भन्दै तर्क गर्नुहुन्छ भने कन्टिर–बाबू प्रष्ट भन्छन्, परिवर्तनका लागि भएका धक्कामुक्का र पकेट खर्चका लागि गरिने गुन्डागर्दी कदापी उस्तै हुन्न ।
यदि तपाई राजनीतिक आन्दोलनसँग जोडिएका घटनाका पात्रहरूलाई दीपक मनाङे, सञ्जय तक्ला, आफताब आलमको लहरमा देख्नुहुन्छ भने पहिले तपाईले आँखा जँचाउनु उपयुक्त हुने कन्टिर–बाबूको ठहर छ ।
ओल्बाले त विराटनगरको आमसभामा भनेकै थिए– यदि अदालतले संसद् पुनःस्थापना ग¥यो भने सांसद किनबेच गर्ने, अपहरण गर्ने, बेपत्ता बनाउने, जबरजस्ती बिरामी बनाउने आदि अनेकन फोहोरी राजनीतिक खेल हुनेछन् ।
कन्टिर–बाबू ओल्बाको यो दूरदर्शीको चाहिँ लोहा मानेका छन् । ओल्बाका कार्यकर्ताहरू उनको दूरदर्शी भनाइ व्यवहारमा पुष्टि गर्न दिनरात, घामपानी नभनी बडो यत्नसाथ लागिपरेका छन् ।
यसमा कन्टिर–बाबू आफ्नो तर्फबाट थपेर भन्छन्– हो, बल्ल सही मानिस सही ठाउँमा पुग्ने परिपाटी सुरु भएको छ । यसो हुँदा अब बलात्कारी, दुराचारी जो–जति बाँकी छन्, तिनलाई पनि सच्चिने मौका दिनुपर्छ । खोजी-खोजी मन्त्री, सांसद बनाउनुपर्छ ।
koshionline




















