गोरखा – निकै ठुलो रस्साकसी पछि ६ बर्षमा लाप्राकीहरुले गुप्सीपाखामा निर्माण भएको बस्ती पाएका छन् ।
गैरआवासिय नेपाली संघ एनआरएनएले गोरखा भूकम्प २०७२ लगत्तै लाप्राकीहरुलाई २ बर्ष भित्रै घर दिने बाचा सहित काम गरेको भएता पनि मुस्किलले ६ बर्षमा एकिकृत नमूना बस्ती हस्तान्तरण गरेको हुन् ।
धार्चे गाउँपालिका ४ को गुप्सीपाखामा निर्माण गरेको उक्त बस्ती बिहीबार संघका अध्यक्ष कुमार पन्तले एक कार्यक्रम गरी हस्तान्रण गरेका थिए । कार्यक्रममा अध्यक्ष पन्तले १ घरको जग्गाधनी पुर्जा स्थानियलाई बुझाएका थिए भने बाँकी एक मुष्ठ रुपमा गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार गुरुङलाई बुझाएको गाउँपालिकाले जनाएको छ ।
गुप्सी पाखामा बनेको ५७३ घरकालागि संघले हाल सम्म कुल ६१ करोड ४० लाख २८ हजार खर्च गरिसकेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाई (जिमाली) का गोरखाका अनुसार पहिलो चरणमा १३० घर परिवारलाई जग्गा धनी पूर्जा विबरण गरिएको छ । अन्यको भने केही काम बाँकी भएकोले केही दिनभित्रै काम सम्पन्न गरेर जग्गा धनी पुर्जा वितरणको काम सम्पन्न गरिने कार्यालयले जनाएको छ ।
०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पले लाप्राकको बस्ती पुर्णरुपमा ध्वस्त भएका कारण २०७३ बैशाख १२ गते एनआरएनएले नेपाल सरकार संग सम्झौता गरी २ बर्ष भित्रै बस्ती निर्माण गरी हस्तान्तरण गर्ने सम्झौता गरेको थियो ।
संघले बस्ती निर्माणको काम सकिको भनेता पनि अत्यावश्यक सुबिधाहरु अझै उपलब्ध भएको छैन । जसका कारण अहिले जम्मा २२ घरमा उत्त बस्तीमा बस्दै आएको छ । दैनिक रुपमा चाहिने अत्याबश्यकीय खानेपानीको काम सकिएको भएता पनि नियमीत रुपमा सुचारु गर्न नसकिनुका साथै बिजुली बत्ति र अन्य अत्यावश्यकीय संरचनाको काम अझै बाँकी रहेको पालिकाका अध्यक्ष गुरुङले बताए ।
प्रति परिवार करिब ४ आना बरावर जमिन पाएका बस्तीमा नाली, पर्खाल, गोरेटो बाटो लगायतका भौतिक संरचना निर्माण हुनै बाँकी छ । बस्ती निर्माण नेपाली सेनाले गरेको हो ।
उत्त बस्ती करिब १८.३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बस्तीका सबै घर एकै प्रकारले निर्माण गरिएको छ । साँघुरो बस्ती भएका कारण कुनै महामारी गाउँमा प्रवेश गरेको खण्डमा एकै निमेषमा गाउँ सखाप हुने खतरा समेत देखिएको छ । बस्ति निर्माण भएता पनि उत्त स्थानमा सधै चिसो हुने भएका कारण पुरानो बस्तीबाट मानिसहरु नयाँ बस्तीमा सर्न अझै आनाकानी गरिहेका छन् ।
कार्यक्रमका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली समेतको सहभागीता रहेको थियो ।


