राजेन्द्रप्रसाद अर्याल
हाल : म्याडिसन, अमेरिका
गाईखुररुपी रमणीय सानो बगैँचाको मात्र होइन, गोरखारुपी बृहत शैक्षिक उद्यानको एउटा सुगन्धमय फूल हुनुहुन्थ्यो परशुराम सर । २८ वर्ष लगातार अध्यापन गरेको गोरखा छाडी जब वहाँले सिध्दार्थ वनस्थली जस्तो देशकै प्रसिद्ध संस्थामा आफ्नो शैक्षिक विद्वतालाइ २० वर्ष पुनस् फैलाउनु भयो, तब पुष्परुपी परशुराम सरको सुगन्ध नेपाल अधिराज्यभर फैलियो । आज ऊनै सरल, विनयशील, नम्र अनि एउटा असल र गुणी शैक्षिक योध्दाको प्रसङ्गमा कलम चलाउने अनुमति माग्छु पाठकहरूसँग ।
एकदिन क्यानडाबाट डा. भरतमान श्रेष्ठको मेसेज आयो स्व.परशुराम श्रेष्ठको सम्बन्धमा स्मृतिग्रन्थ प्रकाशन हुँदैछ, सरको एउटा लेख अनिवार्य छ है । सो स्मृति प्रकाशन अघि स्थानीय पत्रपत्रिकामा पनि यस्ता आलेखहरु प्रकासन भएछन भने अझै राम्रो हुनेछ।
जीवनमा थुप्रै मौका र अवसरहरू गुमाइसकेको मैले यो हार्दिकतापूर्वकको प्रस्तावरुपी अवसरलाई भने कदापि नगुमाउने वचन दिएँ भरतजीलाई। एउटा गुणीप्रतिको श्रद्धाले डोऱ्याएर मात्र हो । क्षमता, ज्ञान र शीप भएर लेख्न तम्सिएको किमार्थ होइन ।
भरतजीको यो मेसेजबाट ठुलो सन्तोष मिल्यो । मन प्रफुल्ल भयो । नहोस् पनि किन ? आधा शताब्दीसम्म निरन्तर शिक्षा र समाजसेवामा समर्पित एउटा विद्वानको इतिहास लेखिने भयो । असल र गुणी व्यक्तिसँगका अनुभव, अनुभूति र विचारहरू लिपिवद्ध हुने भए । गाउँ, जिल्ला र देशले नै कर्मशील व्यक्तिको जीवनवृत्तबाट लाभ पाउने भयो । उदाहरणयोग्य वहाँको कामबाट असल, योग्य र राष्ट्रप्रेमी बन्न प्रेरणा मिल्ने भयो ।
कुराको थालनी गरौँ स्व. परशुराम श्रेष्ठको जीवनको शैक्षिक कर्मथलो लक्ष्मी हाइस्कूल, गाईखुरको सम्बन्धमा । बि. सं. २००७ सालमा जब देशमा प्रजातन्त्र आयो, तब जनताहरूमा चेतनाको स्तर ह्वात्तै बढ्न पुग्यो । तनहुँ बन्दीपुरमा २००४ सालमा स्थापना भएको लक्ष्मी आधार स्कूलमा अङ्ग्रेजी बिषयको पढाइ हुदैनथ्यो । बन्दिपुरेहरू क्षमतावान थिए । प्रजातन्त्र प्राप्ति लगत्तै बि. सं. २००८ सालमा बन्दीपुर बजारमा अङ्ग्रेजी लगायत आधुनिक विषयहरू अध्यापन गर्ने गराउने भानु हाईस्कूल खुल्यो । अर्कोतर्फ लक्ष्मी आधार स्कूलको पढाइप्रति स्थानियहरूको आकर्षण क्रमशस् घट्दै गएथ्यो । उक्त लक्ष्मी आधार स्कूलमा गोरखा जिल्ला गाईखुर गाउँका यमप्रसाद कोइराला प्रधान अध्यापकको रुपमा र अन्य केही गोरखालीहरू शिक्षकका रुपमा कार्यरत थिए ।
यमप्रसाद कोइरालाले त्यो लक्ष्मी आधार स्कूल आफ्नो गाउँमा ‘सार्न पाए’ भन्ने सपना देखे र गाईखुर गाउँका अगुवाहरूसँग सल्लाह गरे । गाउँले अगुवाहरूमा परशुराम श्रेष्ठका पिताजी मुखिया देवीप्रसाद श्रेष्ठ पनि हुनुहुन्थ्यो । यमप्रसाद लगायत गाउँका अगुवाहरूले बन्दीपुरेहरूलाई नचाहिने हुँदै गएको लक्ष्मी आधार स्कूल आफ्नो गाउँ गाईखुरमा अति हर्ज भएको महसुस मात्र गरेनन्, अशिक्षारूपी बाघ र भालुले चिथोरेका गाउँले दाजुभाइको अनुहार पनि सम्झे । अविकासले डामेको पाखो पखेरो र गाउँघर देखे । कुसंस्कार र कुरितिले खित्का छाडेर हाँसेको आवाज उनीहरूको कानमा गुञ्जियो ।
समय अनुसार अङ्ग्रेजी विषयको पढाइ गराउन सक्ने अठोट गरे । सबै मिलेर एकातिर बन्दीपुरेहरूसँग स्कूल स्थान्तरणको लागि अनुरोध गरे भने अर्कोतिर सरकारी निर्णयको लागि दौडधूप पनि गरे । फलस्वरूप बि. सं. २००९ सालमा सम्पुर्ण दरवन्दी र भौतिक सर-सुबिधा सहित लक्ष्मी आधार स्कूल गोरखाको गाईखुरमा स्थान्तरण भयो । आज गाईखुर गाउँ लगायत सेरोफेरोका अन्य गाउँ अनि छिमेकि जिल्लाहरूका सिमावर्ती बासिन्दाहरूको चेतना, उन्नति र विकासको पहिलो जगको रुपमा यही स्कूल हुन पुगेको छ । यो पुण्य कर्म याने कि स्कूल स्थापनामा खट्नु हुने सम्पुर्ण अग्रजहरूप्रति नमन गर्दै मुक्त कण्ठले वहाँहरूको प्रसंशा गर्न चाहन्छु ।
गाउँलेहरूको चाहाना र समयको माग अनुसार यो स्कूलले २०१४ मा मिडिल (अङ्ग्रेजी समेत पढाइ हुने), २०१८ सालमा हाईस्कूल भै २०२१ मा एस. एल. सि. दियो । हो, यही लक्ष्मी हाई स्कूलमा परशुराम सरले बि सं २०२२ सालबाट हेडमास्टरको जिम्मेवारी लिनुभएको थियो ।
अग्लो कद, डम्म परेको खाइलाग्दो शरीर, भद्र व्यक्तित्व अनि शान्त मुद्रा र गतिमा देखिने परशुराम सरलाई मैले आफु सानै छँदादेखि देखेको हुँ । वहाँले हातमा ब्याग बोकेर गोरखा बजार, शिक्षा शाखा लगायतका कार्यालयहरूमा ओहोरदोहोर गरेका सुरुवाती सम्झाना छ मलाई ।
मैले बि. सं. २०२९ सालमा शक्ति हाईस्कूलबाट एस. एल. सि. दिँदा गोरखा जिल्लामा जम्मा सातवटा हाईस्कूलहरू थिए । गाईखुरको लक्ष्मी हाईस्कूलले मात्र नाम कमाएको थिएन, प्र. अ. परशुराम श्रेष्ठले पनि आफ्नो क्षमताको उच्च प्रदर्शन गर्दै जिल्लाभरि सुपरचित भैसक्नुभएको थियो । बि. स. २०३५/०३६ तिर आइपुग्दा त परशुराम सर भनी नाम उच्चारण गर्ने बित्तिकै एउटा सकारात्मक बिम्ब जिल्लाबासीको दिलभित्र देखापर्थ्यो । सुरिलो, नरम, मीठो, स्वादिलो अनि कर्णप्रिय धुन वातावरणमा गुञ्जिएको आभाष हुनजान्थ्यो ।
परशुराम सरसँगको मेरो उठबस र लामो भलाकुसारी भौगोलिक बसाइ, फरक उमेर आदिको कारणहरूले प्रसस्त हुन पाएन । वहाँसँग लामो सरसँगत हुन नपाएको विगतले मलाई सँधै भत्भती पोलिरहन्छ । अपितु केही छोटा भेटघाटहरु, केही श्रुति अनि केही स्मृतिका आधारमा वहाँको बारेमा लेख्न तम्सँदा वहाँसँगका सकारात्मक विम्बहरू ठेलमठेल गर्दै यो पन्नामा अभिव्यक्त हुन हतारिरहेका छन् मेरो दिमागमा ।
गोरखा जिल्लाको दक्षिण पश्चिम भेगमा पर्ने लुईंटेल भन्ज्याङमा बिगतमा राष्ट्रमै नाम कमाएको अमरज्योति जनता हाईस्कूल छ । त्यो स्कूलले २०२६ तिर एस. एल. सि. बोर्ड फर्स्टको नतिजा ल्याई सकेको थियो अनि त्यो दशकतिर बोर्डभित्र पर्नु सामान्यजस्तै भै सकेको थियो । आर्थिक रुपमा सम्पन्न मात्र थिएन त्यो स्कूल, उच्च योग्यता भएका स्वदेशी तथा विदेशी शिक्षकहरू त्यहाँ कार्यरत थिए । अनि भौतिक सरसुबिधाको कमि पनि थिएन । यस किसिमले सम्पन्न अमरज्योति एउटा भन्ज्याङमा थियो भने सँगै कुम जोडिएर गाईखुर गाउँमा लक्ष्मी हाईस्कूल थियो । तर लक्ष्मी हाईस्कूल अमरज्योति हाईस्कूल जस्तो सुबिधा सम्पन्न थिएन-भौतिक तथा जनशक्ति दुबैका हिसाबले ।
जब साधन-श्रोतहरूका अभाव हुन्छन्, तव गुणस्तरिय शिक्षामा व्यवधान आइलाग्न सक्छ । यस्तो प्रतिकुल परिश्थितिमा पनि अमरज्योति हाईस्कूलसँग शैक्षिक गुणस्तरको सवालमा लक्ष्मी हाईस्कूलले प्रतिस्पर्धा गर्नु पर्यो । प्रतिस्पर्धामा खरो निस्कन नसकेको भए लक्ष्मी हाईस्कूलको साख माटोमा मिल्ने थियो । अत्यन्त विषम त्यो परिस्थितिमा पनि हेड मास्टर परशुराम श्रेष्ठको कुशल ब्यबस्थापन र सवल प्रशासनको कारणले लक्ष्मी हाईस्कूलको इज्जत क्रमशस् बढ्दै गयो । हुरी र बतासमा पनि दियो जस्तै निरन्तर बलिरहनु भयो । फलस्वरूप मरुभूमिमा रुखमात्र उम्रिएनन् नवपालुवाहरू क्रमशस् पलाउँदै गए ।
हेडमास्टरको पगरी लगाई कुर्सीमा कहिल्यै निदाउनु भएन परशुराम सर । स्कूललाई सिस्टममा कुदाउने सर्तमा उत्तरदायी बनी सधैँ जागा रहनु भयो । एकातिर गाउँले युवायुवतीहरूलाई गाउँको बिकासमा लाग्न अभिप्रेरित गर्नुहुन्थ्यो, अर्कोतर्फ धुरी खाँबो बनेर विद्यालय थामिरहनु भयो। गाउँबासीको जीन्दगीलाई उत्साह र उमङ्गको गोरेटोमा हिडाउनु भयो ।
अहिले मलाई परशुराम सरको विगतको दैलो उघार्न मन लाग्यो । वहाँको बाल्यकालरूपी ढोकाको छेस्किनी खोल्ने क्रममा वहाँ कै पिताजी शिक्षाप्रेमी स्व. देवीप्रसाद श्रेष्ठको काल्पनिक तस्वीरमा सुगन्धित पुष्पगुच्छा अर्पण गर्न मन लाग्यो जसले परम्परा बिपरित ५ वर्षे बालिका छोरीलाई समेत पढाउन घरबाहिर ५/६ कोष टाढा पठाए। सन्तानहरूलाई उचित शिक्षा दिलाए ।
घरगाउँमा स्कूलहरू नभएको त्यो दारूण अवस्थामा छोराछोरीहरूलाई पढाउने रहर गर्ने अभिभावकहरूले ठूलो सङ्घर्ष गर्नुपर्थ्यो । देवीप्रसाद चेतनशील रहेछन्, शिक्षाको महत्व बुझेका भबिष्य द्रष्टा रहेछन् र त ७/८ वर्षको छोरा परशुराम र ५/६ वर्षकी छोरी गणेशकुमारीलाई पढाउनको लागि डोर्याउदै गाईखुर घरबाट ५/६ कोष टाढाको पोखरीथोक गोरखा बजारतर्फ सातुसामल पिठ्युँमा बोक्दै निक्लिए । बाटोमा पर्ने दरौँदी खोलामा पुल थिएन । दुई छोराछोरीहरूलाई काँधमा राखेर भविष्य निर्माणको लागि जँघार तर्न असमेल भेलमा हेल्लिए । यसरी हरदिन र हररात गर्दै देवीप्रसादले तीन वर्ष विताए ।
गोरखा आधार स्कूलमा छोरा परशुरामलाई कक्षा २, ३, ४ र छोरी गणेशकुमारीलाई १, २, ३ सम्म पढाए (श्रोत : मेरो बाल्यकाल , परशुराम श्रेष्ठ, प्रकाशोन्मुख) । संभबत यो २००४/२००५ सालतिरको प्रसङ्ग हुनसक्छ । महिलाको त के कुरा अधिक पुरूषहरूले नै पढ्न नपाएको र नसकेको अवस्था थियो । साथै कुसंस्कार र अशिक्षाले गाँजेको त्यो अचेतनशील समाजमा हुर्केका देवीप्रसादमा छोराछोरीहरूप्रतिको समान व्यवहार र दुवैलाई पढाउनु पर्छ भन्ने उच्च विचार कसरी पलायो होला ?
गोरखा बजार छाडेपछि परशुरामले लुईंटेलको पौवा स्कूलमा ७ कक्षासम्म पढ्नुभयो र शान्ति बिद्यागृह काठमाडौंमा गई १० कक्षामा भर्ना हुनु भयो । अध्ययनमा बडो तेज हुनुहुँदो रहेछ, नत्र ७ कक्षा मात्र पास गरेको व्यक्तिले कसरी १० कक्षामा भर्ना पाउन सकिन्थ्यो र ? त्यही शान्ति बिद्यागृहबाट दोस्रो श्रेणीमा एस्. एल. सि. पास गर्नु भयो । क्रमशः उच्च शिक्षामा लम्किदै राजनीति शास्त्रमा एम. ए. र अङ्ग्रेजीमा बि. एड. गर्नुभयो ।
शिक्षित व्यक्ति नै कम रहेको त्यो जमानामा उच्च अध्ययन गरेका व्यक्तिहरू त झन् अत्यन्त कम थिए । परशुराम श्रेष्ठको लक्का जवान उमेर र वहाँसँग भएको उच्च योग्यताले वहाँको प्रगति गाउँ बाहिर नै ईङ्कित गरिरहेथ्यो । अझ यसो भन्न सकिन्छ -उडेर देश बिदेश गएर ठूलो प्रगति गर्न सक्ने पखेटा पलाई सकेको थियो वहाँमा अपितु पिछडिएको आफ्नो गाउँको नै सेवा गर्ने निर्णय गर्नुभयो । मैनवत्ति झैँ आफै जलेरै भएपनि गाउँमा उज्यालो छर्ने प्रतिज्ञा गर्नु भयो । हुन पनि त्यस्तै भयो । परशुराम सरकै कारण गाईखुर र वरिपरिका परिवेश खडेरीमा सुकेको बिरुवाले पानी भेटेसरि बौरिन पुग्यो ।
हरेक बिद्यार्थीहरूको दिमागमा सफलताको बीउ देख्नुहुन्थ्यो वहाँ । त्यो बीउमा मिहिनेतको मल र धैर्यताको जल हाल्नुपर्छ भन्नुहुन्थ्यो । शिष्यहरूलाई बारम्बार उपदेश दिइरहनु हुन्थ्यो-आफ्नो भविष्यको रचयिता आफै हो, अरूको भर नपर । मिहिनेत गर, असम्भव केही हुँदैन ।
परशुराम सरलाइ अवगत थियो कि जन्म, तिथि, र मितिले मानिस महान हुने होइन । महान त कर्मले हुन सकिन्छ । वहाँ कर्मशील हुनुहुन्थ्यो र नै त जीवनरुपी सियोमा सजिलोसँग धागो छिराई रहनु भयो । भाग्य चक्रमा कहिल्यै विश्वास गर्नुभएन। विश्वास गर्नु भनेको पङ्खाको पछाडि बसेर हावाको प्रतीक्षा गर्नु सरह ठान्नुहुन्थ्यो । त्यसैले त निरन्तर ४८ वर्षसम्म शिक्षाको सगुन लिएर स्थानिय अभिभाबक र विद्यार्थीको घर दैलोमा अनि विद्यालय भवनहरूमा प्रदक्षिणा गरिरहनुभयो । शिक्षाको अखण्ड ज्योति बालिरहनुभयो । अतस् वहाँलाई एउटा कर्मशील ज्ञानीको रुपमा पनि लिन सकिन्छ ।
परशुराम सरको छाती तराइको बिशाल फाँटजस्तै फराकिलो र मनोभावना सगरमाथा समान उच्च पाउँथ्यौँ हामी । आकाश ओढेर धर्ति ओछ्याउनेहरूप्रति विशेष अनुराग र माया थियो वहाँमा । उनीहरूको कलेटी परेका ओठहरूमा जल सिञ्चन गर्न चाहने मान्यता राख्नुहुन्थ्यो । गरिबहरूका अनुहारमा सदा मुस्कान उमार्न चाहनुहुन्थ्यो । कुनै विशेष निर्णय गर्नुपूर्व हातगोडा फुटेका, अभाव र समस्यामा पिल्सिएका अनि तालुमा नाम्लोको पातोले डामेका अनुहारहरूलाई आफ्नो मनमा उभ्याउनु हुन्थ्यो। कुरिति, कु-संस्कार र गलत परम्पराको गोडामा नेल ठोक्न चाहनुहुन्थ्यो । छुवाछुत र जातपातरुपी असमान ब्यबहारलाई जन्मकैदमा राख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
बि. सं. २०४५ मा परशुराम श्रेष्ठले लक्ष्मी हाईस्कूल छाड्नु भयो भन्ने समाचार जङ्गलको अनियन्त्रित डढेलोझैं चौतर्फी फैलियो । लक्ष्मी हाईस्कूलसँग सम्बन्धित जनताहरूमा चासो र चिन्ता देखियो। समाजमा विभिन्न प्रश्नहरू उब्जिए । अनेकले अनेकन धारणा राखेको सुनिन थाल्यो – ूपरिस्थितिमा परिवर्तन भयो, तर वहाँ परिवर्तन हुनु भएन कि ? ड्राइभर सिटमा वसेर खलासीको काम गर्न वहाँले स्विकार्नु भएन कि ? वहाँको हृदयको खुत्रुकेमा अपमानको सिक्का थप्ने काम पो भयो कि ? गाउँ र स्कूलप्रतिको वहाँले गर्ने एकोहोरो मायाले मुस्किल बनायो कि ? राजनीति मिलेन कि ? चन्द्रमामा दाग देख्ने काम भयो कि ? बुद्धलाई समयमै चिन्न सकिएन कि ? सत्यको घाँटी च्यापेर असत्य दिउँसै हाँस्न पुग्यो कि ? गाईखुरको अन्धकारभरि बल्नुभएको परशुराम सरलाई जब उज्यालो भयो तब निभाउने कोशिश पो भयो कि ?
वहाँको राजिनामालाई लिएर यस्तै सोधिखोजिहरू अनि प्रश्न र प्रतिप्रश्नहरूले लामै समयसम्म टाउको उठाइरहे समाजमा ।
एउटा कहावत छ – अल्छीहरू हरेक अवसरमा समस्या देख्छन् । जाँगरिला र परिश्रमीहरू हरेक समस्यालाई अवसरको रुपमा लिन्छन । परशुराम सर जाँगरिलो र परिश्रमी वर्गमा हुनुहुन्थ्यो र त २८ वर्षको सेवा छाड्नुलाई पनि अवसर नै ठान्नुभयो। सिध्दार्थ वनस्थली इन्स्टिच्युटजस्तो देशकै प्रतिष्ठित संस्थामा पुन: अध्यापन थाल्नु भयो । २० वर्ष लगातार सेवा गर्नुभयो । हजारौँ शिष्यहरूलाई दीक्षित गर्नुभयो ।
गोरखा छाडेपछि मेरो स्थायी बसाइ काठमाडौंको सोह्रखुट्टे हुनपुग्यो । सिध्दार्थ वनस्थली इन्स्टिच्युटमा आफ्नी छोरी पढ्ने हुनाले अभिभावकको नाताले म बारम्बार पुगिरहन्थेँ त्यहाँ । यो सायद २०६०/६१ तिर वा केही अघिपछिको प्रसङ्ग हो । ती दिनहरूमा त्यहाँ मैले परशुराम सरलाइ बारम्बार भेटेको थिएँ । हामी धेरै पटक गफिएको पनि सम्झना छ मलाई। त्यसबखत ममा गोरखाको शैक्षिक इतिहासको जानाकारी लिने भुत सवार भएको हुनाले पनि वहाँसँगका ती भेटहरू मेरा लागि अत्यन्तै ठुलो अवसर बनेका थिए । गोरखा लगायत विशेषतस् लक्ष्मी हाइ स्कूलको शैक्षिक तथा सामाजिक इतिहासको ज्ञान मैले लिन पाएँ परशुराम सरबाट । वहाँले लक्ष्मी माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित लक्ष्मी स्मारिका-२०५९ स्नेहपूर्वक दिनुभयो मलाई ।
परशुराम सरले मसँग प्रत्येक भेटमा आँत खोलेर गफ गर्नुहुन्थ्यो, जबकी म वहाँभन्दा धेरै कनिष्ट थिएँ, तल थिएँ । भलादमी, शिष्ट, र केही कम बोल्ने, अन्तरमुखी स्वभावको पाएँ वहाँलाई, अपितु वहाँको मौनता र गाम्भीर्यताबाट पनि धेरै कुराहरू सिक्न सकिन्थ्यो, जसरी एउटा महात्मा पुरुषको सान्निध्यबाट सिक्न सकिन्छ । गफगाफको प्रसङ्गमा बेलाबेलामा स्नेहपूर्वक मेरो नाम लिनुहुन्थ्यो । त्यो मधुर बोलीमा म आफ्नै अभिभाबकको सुगन्ध पाउँथे । वहाँको सरलता देख्दा( हृदयबाट मानवीय दम्भको ग्रन्थी नै फालिसक्नु भएजस्तो लाग्यो ।
आफ्नो जिन्दगीको आरोह अवरोहमा केही गुनासाहरू र चित्त दुखाइहरू पनि थिए होलान् । तर विद्रोही भावाना, आक्रोश र लान्छना पटक्कै पाइन वहाँमा मैले । बनिबनाउ सहरियाजस्तो नक्कली जीवनशैली थिएन । सादा जीवन र उच्च विचारले सजिसजाउ हुनुहुन्थ्यो । हार्दिकता अनि निष्कपटता अनुहार र व्यवहारमा झल्कन्थ्यो ।
एउटा असल , सज्जन र गुणी विद्वानसँगका ती साक्षात्कारहरू मेरा लागि कोहिनूरजस्तै बहुमुल्य बनेका छन् । परशुराम सर मेरै प्यारो गोरखा जिल्लाको बासिन्दा हुनुहुन्छ भन्न पाउँदा मेरो शिर गौरबले उच्च हुनपुग्छ । ती भेटहरू र सौहार्द्रपूर्ण वार्तालापहरू जीवनका अविश्मरणिय क्षणको रूपमा लिईरहेको छु ।
परशुराम सरले जीवनभरी दिएर मात्र जानुभयो । वहाँले ४८ बर्षसम्मको दीर्घ शिक्षा सेवा मात्र गर्नु भएन अङ्ग्रेजी ग्रामर, कम्प्रिहेन्सन एण्ड कम्पोजिसन नामक एक्सर्साइज बुकु पनि प्रकाशन गर्नु भएको छ । करिब १/२ वटा पुस्तक हुने लेखररचनाहरू प्रकाशन हुने क्रममा रहेको जानकारी मिलेको छ ।
बि. सं. १९९४ साल श्रावण महिनाको १३ गते जन्मनु भएको परशुराम सर बि. सं. २०७७ कार्तिक महिनाको ७ गते परलोक हुनु भयो । परलोक हुनु भयो भन्ने दुखद समाचारबाट म छाँगोबाट खसेजस्तो मात्र भइन, लामो समयसम्म दिलभित्र शोक धुन बजिरह्यो । विरहको गीत गुन्जिरह्यो । सोचेँ -“गोरखा जिल्लाको शैक्षिक घाम दिउँसै डुबेछ । जन्मभूमिको जून समान शीतल विद्वान् सदाको लागि आकाशमा हराएछ।” यी र यस्तै नरमाईला भावानाहरू आइजाई गरिरहे मनमा ।
परशुराम श्रेष्ठको नाम, किर्ति र सुवासलाई चीर स्थायी बनाई राख्न र वहाँकै नामबाट समाजमा विविध सामाजिक सेवा गर्न वहाँकी धर्मपत्नी र सन्तानहरूबाट एउटा सामाजिक प्रतिष्ठान स्थापना हुँदैछ भन्ने समाचार सुन्न पाउँदा बडो हर्ष लागेको छ । योग्य पिताका सुयोग्य सन्तानहरू रहेछन् । आफ्नो गाँस काटेर पितृलाई चढाउन चाहने यी सन्तानहरूले पूर्वजप्रतिको कर्तव्यभित्र अलकापुरीको आनन्दको अनुभव गर्दा रहेछन् । सहृदय मुरीमुरी धन्यबाद ।
परशुराम श्रेष्ठ यो धर्ती छोडेर जानु भए पनि वहाँ आफ्ना सुकीर्तिको प्रभावले मृत्युन्जयी बन्नुभएकोछ । वहाँको सम्झना नेपाल र नेपालीको, अझ भनौँ सारा गोरखालीको मनको पर्दामा एउटा सुन्दर चित्र बनेर बस्नेछ । नेपाली माटोमा एउटा मिठो सदावहार गीत बनेर गुन्जिरहने छ ।
अन्त्यमा यी कोरा शब्दहरूबाट मैले जानी नजानी उनेको परशुराम सर सम्बन्धि स्मृतिको माला वहाँकै तस्बिरमा पहिर्याउन चाहन्छु । परशुराम सरप्रति श्रद्धानत हुँदै हार्दिक श्रध्दान्जली अर्पण गर्दछु ।
धन्यवाद ।





















