×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्मृतिमा परशुराम सर

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजेन्द्रप्रसाद अर्याल
    हाल : म्याडिसन, अमेरिका

    गाईखुररुपी रमणीय सानो बगैँचाको मात्र होइन, गोरखारुपी बृहत शैक्षिक उद्यानको एउटा सुगन्धमय फूल हुनुहुन्थ्यो परशुराम सर । २८ वर्ष लगातार अध्यापन गरेको गोरखा छाडी जब वहाँले सिध्दार्थ वनस्थली जस्तो देशकै प्रसिद्ध संस्थामा आफ्नो शैक्षिक विद्वतालाइ २० वर्ष पुनस् फैलाउनु भयो, तब पुष्परुपी परशुराम सरको सुगन्ध नेपाल अधिराज्यभर फैलियो । आज ऊनै सरल, विनयशील, नम्र अनि एउटा असल र गुणी शैक्षिक योध्दाको प्रसङ्गमा कलम चलाउने अनुमति माग्छु पाठकहरूसँग ।

    एकदिन क्यानडाबाट डा. भरतमान श्रेष्ठको मेसेज आयो स्व.परशुराम श्रेष्ठको सम्बन्धमा स्मृतिग्रन्थ प्रकाशन हुँदैछ, सरको एउटा लेख अनिवार्य छ है । सो स्मृति प्रकाशन अघि स्थानीय पत्रपत्रिकामा पनि यस्ता आलेखहरु प्रकासन भएछन भने अझै राम्रो हुनेछ।

    जीवनमा थुप्रै मौका र अवसरहरू गुमाइसकेको मैले यो हार्दिकतापूर्वकको प्रस्तावरुपी अवसरलाई भने कदापि नगुमाउने वचन दिएँ भरतजीलाई। एउटा गुणीप्रतिको श्रद्धाले डोऱ्याएर मात्र हो । क्षमता, ज्ञान र शीप भएर लेख्न तम्सिएको किमार्थ होइन ।

    भरतजीको यो मेसेजबाट ठुलो सन्तोष मिल्यो । मन प्रफुल्ल भयो । नहोस् पनि किन ? आधा शताब्दीसम्म निरन्तर शिक्षा र समाजसेवामा समर्पित एउटा विद्वानको इतिहास लेखिने भयो । असल र गुणी व्यक्तिसँगका अनुभव, अनुभूति र विचारहरू लिपिवद्ध हुने भए । गाउँ, जिल्ला र देशले नै कर्मशील व्यक्तिको जीवनवृत्तबाट लाभ पाउने भयो । उदाहरणयोग्य वहाँको कामबाट असल, योग्य र राष्ट्रप्रेमी बन्न प्रेरणा मिल्ने भयो ।

    कुराको थालनी गरौँ स्व. परशुराम श्रेष्ठको जीवनको शैक्षिक कर्मथलो लक्ष्मी हाइस्कूल, गाईखुरको सम्बन्धमा । बि. सं. २००७ सालमा जब देशमा प्रजातन्त्र आयो, तब जनताहरूमा चेतनाको स्तर ह्वात्तै बढ्न पुग्यो । तनहुँ बन्दीपुरमा २००४ सालमा स्थापना भएको लक्ष्मी आधार स्कूलमा अङ्ग्रेजी बिषयको पढाइ हुदैनथ्यो । बन्दिपुरेहरू क्षमतावान थिए । प्रजातन्त्र प्राप्ति लगत्तै बि. सं. २००८ सालमा बन्दीपुर बजारमा अङ्ग्रेजी लगायत आधुनिक विषयहरू अध्यापन गर्ने गराउने भानु हाईस्कूल खुल्यो । अर्कोतर्फ लक्ष्मी आधार स्कूलको पढाइप्रति स्थानियहरूको आकर्षण क्रमशस् घट्दै गएथ्यो । उक्त लक्ष्मी आधार स्कूलमा गोरखा जिल्ला गाईखुर गाउँका यमप्रसाद कोइराला प्रधान अध्यापकको रुपमा र अन्य केही गोरखालीहरू शिक्षकका रुपमा कार्यरत थिए ।

    यमप्रसाद कोइरालाले त्यो लक्ष्मी आधार स्कूल आफ्नो गाउँमा ‘सार्न पाए’ भन्ने सपना देखे र गाईखुर गाउँका अगुवाहरूसँग सल्लाह गरे । गाउँले अगुवाहरूमा परशुराम श्रेष्ठका पिताजी मुखिया देवीप्रसाद श्रेष्ठ पनि हुनुहुन्थ्यो । यमप्रसाद लगायत गाउँका अगुवाहरूले बन्दीपुरेहरूलाई नचाहिने हुँदै गएको लक्ष्मी आधार स्कूल आफ्नो गाउँ गाईखुरमा अति हर्ज भएको महसुस मात्र गरेनन्, अशिक्षारूपी बाघ र भालुले चिथोरेका गाउँले दाजुभाइको अनुहार पनि सम्झे । अविकासले डामेको पाखो पखेरो र गाउँघर देखे । कुसंस्कार र कुरितिले खित्का छाडेर हाँसेको आवाज उनीहरूको कानमा गुञ्जियो ।

    समय अनुसार अङ्ग्रेजी विषयको पढाइ गराउन सक्ने अठोट गरे । सबै मिलेर एकातिर बन्दीपुरेहरूसँग स्कूल स्थान्तरणको लागि अनुरोध गरे भने अर्कोतिर सरकारी निर्णयको लागि दौडधूप पनि गरे । फलस्वरूप बि. सं. २००९ सालमा सम्पुर्ण दरवन्दी र भौतिक सर-सुबिधा सहित लक्ष्मी आधार स्कूल गोरखाको गाईखुरमा स्थान्तरण भयो । आज गाईखुर गाउँ लगायत सेरोफेरोका अन्य गाउँ अनि छिमेकि जिल्लाहरूका सिमावर्ती बासिन्दाहरूको चेतना, उन्नति र विकासको पहिलो जगको रुपमा यही स्कूल हुन पुगेको छ । यो पुण्य कर्म याने कि स्कूल स्थापनामा खट्नु हुने सम्पुर्ण अग्रजहरूप्रति नमन गर्दै मुक्त कण्ठले वहाँहरूको प्रसंशा गर्न चाहन्छु ।

    गाउँलेहरूको चाहाना र समयको माग अनुसार यो स्कूलले २०१४ मा मिडिल (अङ्ग्रेजी समेत पढाइ हुने), २०१८ सालमा हाईस्कूल भै २०२१ मा एस. एल. सि. दियो । हो, यही लक्ष्मी हाई स्कूलमा परशुराम सरले बि सं २०२२ सालबाट हेडमास्टरको जिम्मेवारी लिनुभएको थियो ।

    अग्लो कद, डम्म परेको खाइलाग्दो शरीर, भद्र व्यक्तित्व अनि शान्त मुद्रा र गतिमा देखिने परशुराम सरलाई मैले आफु सानै छँदादेखि देखेको हुँ । वहाँले हातमा ब्याग बोकेर गोरखा बजार, शिक्षा शाखा लगायतका कार्यालयहरूमा ओहोरदोहोर गरेका सुरुवाती सम्झाना छ मलाई ।

    मैले बि. सं. २०२९ सालमा शक्ति हाईस्कूलबाट एस. एल. सि. दिँदा गोरखा जिल्लामा जम्मा सातवटा हाईस्कूलहरू थिए । गाईखुरको लक्ष्मी हाईस्कूलले मात्र नाम कमाएको थिएन, प्र. अ. परशुराम श्रेष्ठले पनि आफ्नो क्षमताको उच्च प्रदर्शन गर्दै जिल्लाभरि सुपरचित भैसक्नुभएको थियो । बि. स. २०३५/०३६ तिर आइपुग्दा त परशुराम सर भनी नाम उच्चारण गर्ने बित्तिकै एउटा सकारात्मक बिम्ब जिल्लाबासीको दिलभित्र देखापर्थ्यो । सुरिलो, नरम, मीठो, स्वादिलो अनि कर्णप्रिय धुन वातावरणमा गुञ्जिएको आभाष हुनजान्थ्यो ।

    परशुराम सरसँगको मेरो उठबस र लामो भलाकुसारी भौगोलिक बसाइ, फरक उमेर आदिको कारणहरूले प्रसस्त हुन पाएन । वहाँसँग लामो सरसँगत हुन नपाएको विगतले मलाई सँधै भत्भती पोलिरहन्छ । अपितु केही छोटा भेटघाटहरु, केही श्रुति अनि केही स्मृतिका आधारमा वहाँको बारेमा लेख्न तम्सँदा वहाँसँगका सकारात्मक विम्बहरू ठेलमठेल गर्दै यो पन्नामा अभिव्यक्त हुन हतारिरहेका छन् मेरो दिमागमा ।

    गोरखा जिल्लाको दक्षिण पश्चिम भेगमा पर्ने लुईंटेल भन्ज्याङमा बिगतमा राष्ट्रमै नाम कमाएको अमरज्योति जनता हाईस्कूल छ । त्यो स्कूलले २०२६ तिर एस. एल. सि. बोर्ड फर्स्टको नतिजा ल्याई सकेको थियो अनि त्यो दशकतिर बोर्डभित्र पर्नु सामान्यजस्तै भै सकेको थियो । आर्थिक रुपमा सम्पन्न मात्र थिएन त्यो स्कूल, उच्च योग्यता भएका स्वदेशी तथा विदेशी शिक्षकहरू त्यहाँ कार्यरत थिए । अनि भौतिक सरसुबिधाको कमि पनि थिएन । यस किसिमले सम्पन्न अमरज्योति एउटा भन्ज्याङमा थियो भने सँगै कुम जोडिएर गाईखुर गाउँमा लक्ष्मी हाईस्कूल थियो । तर लक्ष्मी हाईस्कूल अमरज्योति हाईस्कूल जस्तो सुबिधा सम्पन्न थिएन-भौतिक तथा जनशक्ति दुबैका हिसाबले ।

    जब साधन-श्रोतहरूका अभाव हुन्छन्, तव गुणस्तरिय शिक्षामा व्यवधान आइलाग्न सक्छ । यस्तो प्रतिकुल परिश्थितिमा पनि अमरज्योति हाईस्कूलसँग शैक्षिक गुणस्तरको सवालमा लक्ष्मी हाईस्कूलले प्रतिस्पर्धा गर्नु पर्यो । प्रतिस्पर्धामा खरो निस्कन नसकेको भए लक्ष्मी हाईस्कूलको साख माटोमा मिल्ने थियो । अत्यन्त विषम त्यो परिस्थितिमा पनि हेड मास्टर परशुराम श्रेष्ठको कुशल ब्यबस्थापन र सवल प्रशासनको कारणले लक्ष्मी हाईस्कूलको इज्जत क्रमशस् बढ्दै गयो । हुरी र बतासमा पनि दियो जस्तै निरन्तर बलिरहनु भयो । फलस्वरूप मरुभूमिमा रुखमात्र उम्रिएनन् नवपालुवाहरू क्रमशस् पलाउँदै गए ।

    हेडमास्टरको पगरी लगाई कुर्सीमा कहिल्यै निदाउनु भएन परशुराम सर । स्कूललाई सिस्टममा कुदाउने सर्तमा उत्तरदायी बनी सधैँ जागा रहनु भयो । एकातिर गाउँले युवायुवतीहरूलाई गाउँको बिकासमा लाग्न अभिप्रेरित गर्नुहुन्थ्यो, अर्कोतर्फ धुरी खाँबो बनेर विद्यालय थामिरहनु भयो। गाउँबासीको जीन्दगीलाई उत्साह र उमङ्गको गोरेटोमा हिडाउनु भयो ।

    अहिले मलाई परशुराम सरको विगतको दैलो उघार्न मन लाग्यो । वहाँको बाल्यकालरूपी ढोकाको छेस्किनी खोल्ने क्रममा वहाँ कै पिताजी शिक्षाप्रेमी स्व. देवीप्रसाद श्रेष्ठको काल्पनिक तस्वीरमा सुगन्धित पुष्पगुच्छा अर्पण गर्न मन लाग्यो जसले परम्परा बिपरित ५ वर्षे बालिका छोरीलाई समेत पढाउन घरबाहिर ५/६ कोष टाढा पठाए। सन्तानहरूलाई उचित शिक्षा दिलाए ।

    घरगाउँमा स्कूलहरू नभएको त्यो दारूण अवस्थामा छोराछोरीहरूलाई पढाउने रहर गर्ने अभिभावकहरूले ठूलो सङ्घर्ष गर्नुपर्थ्यो । देवीप्रसाद चेतनशील रहेछन्, शिक्षाको महत्व बुझेका भबिष्य द्रष्टा रहेछन् र त ७/८ वर्षको छोरा परशुराम र ५/६ वर्षकी छोरी गणेशकुमारीलाई पढाउनको लागि डोर्याउदै गाईखुर घरबाट ५/६ कोष टाढाको पोखरीथोक गोरखा बजारतर्फ सातुसामल पिठ्युँमा बोक्दै निक्लिए । बाटोमा पर्ने दरौँदी खोलामा पुल थिएन । दुई छोराछोरीहरूलाई काँधमा राखेर भविष्य निर्माणको लागि जँघार तर्न असमेल भेलमा हेल्लिए । यसरी हरदिन र हररात गर्दै देवीप्रसादले तीन वर्ष विताए ।

    गोरखा आधार स्कूलमा छोरा परशुरामलाई कक्षा २, ३, ४ र छोरी गणेशकुमारीलाई १, २, ३ सम्म पढाए (श्रोत : मेरो बाल्यकाल , परशुराम श्रेष्ठ, प्रकाशोन्मुख) । संभबत यो २००४/२००५ सालतिरको प्रसङ्ग हुनसक्छ । महिलाको त के कुरा अधिक पुरूषहरूले नै पढ्न नपाएको र नसकेको अवस्था थियो । साथै कुसंस्कार र अशिक्षाले गाँजेको त्यो अचेतनशील समाजमा हुर्केका देवीप्रसादमा छोराछोरीहरूप्रतिको समान व्यवहार र दुवैलाई पढाउनु पर्छ भन्ने उच्च विचार कसरी पलायो होला ?

    गोरखा बजार छाडेपछि परशुरामले लुईंटेलको पौवा स्कूलमा ७ कक्षासम्म पढ्नुभयो र शान्ति बिद्यागृह काठमाडौंमा गई १० कक्षामा भर्ना हुनु भयो । अध्ययनमा बडो तेज हुनुहुँदो रहेछ, नत्र ७ कक्षा मात्र पास गरेको व्यक्तिले कसरी १० कक्षामा भर्ना पाउन सकिन्थ्यो र ? त्यही शान्ति बिद्यागृहबाट दोस्रो श्रेणीमा एस्. एल. सि. पास गर्नु भयो । क्रमशः उच्च शिक्षामा लम्किदै राजनीति शास्त्रमा एम. ए. र अङ्ग्रेजीमा बि. एड. गर्नुभयो ।

    शिक्षित व्यक्ति नै कम रहेको त्यो जमानामा उच्च अध्ययन गरेका व्यक्तिहरू त झन् अत्यन्त कम थिए । परशुराम श्रेष्ठको लक्का जवान उमेर र वहाँसँग भएको उच्च योग्यताले वहाँको प्रगति गाउँ बाहिर नै ईङ्कित गरिरहेथ्यो । अझ यसो भन्न सकिन्छ -उडेर देश बिदेश गएर ठूलो प्रगति गर्न सक्ने पखेटा पलाई सकेको थियो वहाँमा अपितु पिछडिएको आफ्नो गाउँको नै सेवा गर्ने निर्णय गर्नुभयो । मैनवत्ति झैँ आफै जलेरै भएपनि गाउँमा उज्यालो छर्ने प्रतिज्ञा गर्नु भयो । हुन पनि त्यस्तै भयो । परशुराम सरकै कारण गाईखुर र वरिपरिका परिवेश खडेरीमा सुकेको बिरुवाले पानी भेटेसरि बौरिन पुग्यो ।

    हरेक बिद्यार्थीहरूको दिमागमा सफलताको बीउ देख्नुहुन्थ्यो वहाँ । त्यो बीउमा मिहिनेतको मल र धैर्यताको जल हाल्नुपर्छ भन्नुहुन्थ्यो । शिष्यहरूलाई बारम्बार उपदेश दिइरहनु हुन्थ्यो-आफ्नो भविष्यको रचयिता आफै हो, अरूको भर नपर । मिहिनेत गर, असम्भव केही हुँदैन ।

    परशुराम सरलाइ अवगत थियो कि जन्म, तिथि, र मितिले मानिस महान हुने होइन । महान त कर्मले हुन सकिन्छ । वहाँ कर्मशील हुनुहुन्थ्यो र नै त जीवनरुपी सियोमा सजिलोसँग धागो छिराई रहनु भयो । भाग्य चक्रमा कहिल्यै विश्वास गर्नुभएन। विश्वास गर्नु भनेको पङ्खाको पछाडि बसेर हावाको प्रतीक्षा गर्नु सरह ठान्नुहुन्थ्यो । त्यसैले त निरन्तर ४८ वर्षसम्म शिक्षाको सगुन लिएर स्थानिय अभिभाबक र विद्यार्थीको घर दैलोमा अनि विद्यालय भवनहरूमा प्रदक्षिणा गरिरहनुभयो । शिक्षाको अखण्ड ज्योति बालिरहनुभयो । अतस् वहाँलाई एउटा कर्मशील ज्ञानीको रुपमा पनि लिन सकिन्छ ।

    परशुराम सरको छाती तराइको बिशाल फाँटजस्तै फराकिलो र मनोभावना सगरमाथा समान उच्च पाउँथ्यौँ हामी । आकाश ओढेर धर्ति ओछ्याउनेहरूप्रति विशेष अनुराग र माया थियो वहाँमा । उनीहरूको कलेटी परेका ओठहरूमा जल सिञ्चन गर्न चाहने मान्यता राख्नुहुन्थ्यो । गरिबहरूका अनुहारमा सदा मुस्कान उमार्न चाहनुहुन्थ्यो । कुनै विशेष निर्णय गर्नुपूर्व हातगोडा फुटेका, अभाव र समस्यामा पिल्सिएका अनि तालुमा नाम्लोको पातोले डामेका अनुहारहरूलाई आफ्नो मनमा उभ्याउनु हुन्थ्यो। कुरिति, कु-संस्कार र गलत परम्पराको गोडामा नेल ठोक्न चाहनुहुन्थ्यो । छुवाछुत र जातपातरुपी असमान ब्यबहारलाई जन्मकैदमा राख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।

    बि. सं. २०४५ मा परशुराम श्रेष्ठले लक्ष्मी हाईस्कूल छाड्नु भयो भन्ने समाचार जङ्गलको अनियन्त्रित डढेलोझैं चौतर्फी फैलियो । लक्ष्मी हाईस्कूलसँग सम्बन्धित जनताहरूमा चासो र चिन्ता देखियो। समाजमा विभिन्न प्रश्नहरू उब्जिए । अनेकले अनेकन धारणा राखेको सुनिन थाल्यो – ूपरिस्थितिमा परिवर्तन भयो, तर वहाँ परिवर्तन हुनु भएन कि ? ड्राइभर सिटमा वसेर खलासीको काम गर्न वहाँले स्विकार्नु भएन कि ? वहाँको हृदयको खुत्रुकेमा अपमानको सिक्का थप्ने काम पो भयो कि ? गाउँ र स्कूलप्रतिको वहाँले गर्ने एकोहोरो मायाले मुस्किल बनायो कि ? राजनीति मिलेन कि ? चन्द्रमामा दाग देख्ने काम भयो कि ? बुद्धलाई समयमै चिन्न सकिएन कि ? सत्यको घाँटी च्यापेर असत्य दिउँसै हाँस्न पुग्यो कि ? गाईखुरको अन्धकारभरि बल्नुभएको परशुराम सरलाई जब उज्यालो भयो तब निभाउने कोशिश पो भयो कि ?
    वहाँको राजिनामालाई लिएर यस्तै सोधिखोजिहरू अनि प्रश्न र प्रतिप्रश्नहरूले लामै समयसम्म टाउको उठाइरहे समाजमा ।

    एउटा कहावत छ – अल्छीहरू हरेक अवसरमा समस्या देख्छन् । जाँगरिला र परिश्रमीहरू हरेक समस्यालाई अवसरको रुपमा लिन्छन । परशुराम सर जाँगरिलो र परिश्रमी वर्गमा हुनुहुन्थ्यो र त २८ वर्षको सेवा छाड्नुलाई पनि अवसर नै ठान्नुभयो। सिध्दार्थ वनस्थली इन्स्टिच्युटजस्तो देशकै प्रतिष्ठित संस्थामा पुन: अध्यापन थाल्नु भयो । २० वर्ष लगातार सेवा गर्नुभयो । हजारौँ शिष्यहरूलाई दीक्षित गर्नुभयो ।

    गोरखा छाडेपछि मेरो स्थायी बसाइ काठमाडौंको सोह्रखुट्टे हुनपुग्यो । सिध्दार्थ वनस्थली इन्स्टिच्युटमा आफ्नी छोरी पढ्ने हुनाले अभिभावकको नाताले म बारम्बार पुगिरहन्थेँ त्यहाँ । यो सायद २०६०/६१ तिर वा केही अघिपछिको प्रसङ्ग हो । ती दिनहरूमा त्यहाँ मैले परशुराम सरलाइ बारम्बार भेटेको थिएँ । हामी धेरै पटक गफिएको पनि सम्झना छ मलाई। त्यसबखत ममा गोरखाको शैक्षिक इतिहासको जानाकारी लिने भुत सवार भएको हुनाले पनि वहाँसँगका ती भेटहरू मेरा लागि अत्यन्तै ठुलो अवसर बनेका थिए । गोरखा लगायत विशेषतस् लक्ष्मी हाइ स्कूलको शैक्षिक तथा सामाजिक इतिहासको ज्ञान मैले लिन पाएँ परशुराम सरबाट । वहाँले लक्ष्मी माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित लक्ष्मी स्मारिका-२०५९ स्नेहपूर्वक दिनुभयो मलाई ।

    परशुराम सरले मसँग प्रत्येक भेटमा आँत खोलेर गफ गर्नुहुन्थ्यो, जबकी म वहाँभन्दा धेरै कनिष्ट थिएँ, तल थिएँ । भलादमी, शिष्ट, र केही कम बोल्ने, अन्तरमुखी स्वभावको पाएँ वहाँलाई, अपितु वहाँको मौनता र गाम्भीर्यताबाट पनि धेरै कुराहरू सिक्न सकिन्थ्यो, जसरी एउटा महात्मा पुरुषको सान्निध्यबाट सिक्न सकिन्छ । गफगाफको प्रसङ्गमा बेलाबेलामा स्नेहपूर्वक मेरो नाम लिनुहुन्थ्यो । त्यो मधुर बोलीमा म आफ्नै अभिभाबकको सुगन्ध पाउँथे । वहाँको सरलता देख्दा( हृदयबाट मानवीय दम्भको ग्रन्थी नै फालिसक्नु भएजस्तो लाग्यो ।

    आफ्नो जिन्दगीको आरोह अवरोहमा केही गुनासाहरू र चित्त दुखाइहरू पनि थिए होलान् । तर विद्रोही भावाना, आक्रोश र लान्छना पटक्कै पाइन वहाँमा मैले । बनिबनाउ सहरियाजस्तो नक्कली जीवनशैली थिएन । सादा जीवन र उच्च विचारले सजिसजाउ हुनुहुन्थ्यो । हार्दिकता अनि निष्कपटता अनुहार र व्यवहारमा झल्कन्थ्यो ।

    एउटा असल , सज्जन र गुणी विद्वानसँगका ती साक्षात्कारहरू मेरा लागि कोहिनूरजस्तै बहुमुल्य बनेका छन् । परशुराम सर मेरै प्यारो गोरखा जिल्लाको बासिन्दा हुनुहुन्छ भन्न पाउँदा मेरो शिर गौरबले उच्च हुनपुग्छ । ती भेटहरू र सौहार्द्रपूर्ण वार्तालापहरू जीवनका अविश्मरणिय क्षणको रूपमा लिईरहेको छु ।

    परशुराम सरले जीवनभरी दिएर मात्र जानुभयो । वहाँले ४८ बर्षसम्मको दीर्घ शिक्षा सेवा मात्र गर्नु भएन अङ्ग्रेजी ग्रामर, कम्प्रिहेन्सन एण्ड कम्पोजिसन नामक एक्सर्साइज बुकु पनि प्रकाशन गर्नु भएको छ । करिब १/२ वटा पुस्तक हुने लेखररचनाहरू प्रकाशन हुने क्रममा रहेको जानकारी मिलेको छ ।

    बि. सं. १९९४ साल श्रावण महिनाको १३ गते जन्मनु भएको परशुराम सर बि. सं. २०७७ कार्तिक महिनाको ७ गते परलोक हुनु भयो । परलोक हुनु भयो भन्ने दुखद समाचारबाट म छाँगोबाट खसेजस्तो मात्र भइन, लामो समयसम्म दिलभित्र शोक धुन बजिरह्यो । विरहको गीत गुन्जिरह्यो । सोचेँ -“गोरखा जिल्लाको शैक्षिक घाम दिउँसै डुबेछ । जन्मभूमिको जून समान शीतल विद्वान् सदाको लागि आकाशमा हराएछ।” यी र यस्तै नरमाईला भावानाहरू आइजाई गरिरहे मनमा ।

    परशुराम श्रेष्ठको नाम, किर्ति र सुवासलाई चीर स्थायी बनाई राख्न र वहाँकै नामबाट समाजमा विविध सामाजिक सेवा गर्न वहाँकी धर्मपत्नी र सन्तानहरूबाट एउटा सामाजिक प्रतिष्ठान स्थापना हुँदैछ भन्ने समाचार सुन्न पाउँदा बडो हर्ष लागेको छ । योग्य पिताका सुयोग्य सन्तानहरू रहेछन् । आफ्नो गाँस काटेर पितृलाई चढाउन चाहने यी सन्तानहरूले पूर्वजप्रतिको कर्तव्यभित्र अलकापुरीको आनन्दको अनुभव गर्दा रहेछन् । सहृदय मुरीमुरी धन्यबाद ।

    परशुराम श्रेष्ठ यो धर्ती छोडेर जानु भए पनि वहाँ आफ्ना सुकीर्तिको प्रभावले मृत्युन्जयी बन्नुभएकोछ । वहाँको सम्झना नेपाल र नेपालीको, अझ भनौँ सारा गोरखालीको मनको पर्दामा एउटा सुन्दर चित्र बनेर बस्नेछ । नेपाली माटोमा एउटा मिठो सदावहार गीत बनेर गुन्जिरहने छ ।

    अन्त्यमा यी कोरा शब्दहरूबाट मैले जानी नजानी उनेको परशुराम सर सम्बन्धि स्मृतिको माला वहाँकै तस्बिरमा पहिर्याउन चाहन्छु । परशुराम सरप्रति श्रद्धानत हुँदै हार्दिक श्रध्दान्जली अर्पण गर्दछु ।

    धन्यवाद ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.