काठमाण्डौं – नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेताहरुसँग २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सनिबार बसेको माओवादी केन्द्रको बैठकले रामबहादुर थापा सहितका नेता नेकपा एमालेको केन्द्रित सदस्य बनेपछि कारवाही प्रक्रिया अघि बढाउन उनीहरुलाई स्पष्टी करण सोध्ने र मन्त्रीबाट बोलाउने निर्र्णय भएको हो ।
स्थायी समिति बैठकले एमालेको कमिटीमा राखिएका संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी गराए ।
बैठकले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।
सरकारमा माओवादीको तर्फबाट मन्त्री रहेका सबै मन्त्री यसअघि नै दाहाल समूह छाड्नेहरु छन् । उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने प्रक्रिया अन्तर्गत स्पष्टिकरण सोध्ने र फिर्ता बोलाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।
स्थायी समिति बैठकले चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । चैत १ गते हुने भनिएको केन्द्रीय समितिको बैठक भने यथावत राख्ने निर्णय बैठकले गरेको छ ।




















