एजेन्सी – कोरोना भाइरसको बेलायतमा फेला परेको स्वरुप अन्य कोरोना भाइरसको तुलनामा बढी घातक भएको कुरा एउटा नयाँ अध्ययनले पनि प्रमाणित गरेको छ ।
नयाँ अध्ययनमा के पाइएको छ भने बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्वरुप अन्य कोरोना स्वरुपको तुलनामा ३० प्रतिशतदेखि शत प्रतिशत बढी घातक छ ।
उक्त अध्ययनमा बेलायती स्वरुप (SARS-CoV-2 Variant/B.1.1.7) बाट प्रभावित बिरामीहरुको मृत्यु दर तथा अन्य कोरोना भाइरसबाट संक्रमित हुने बिरामीहरुको मृत्युदरलाई आपसमा तुलना गरिएको छ ।
त्यसपछि के पाइएको छ भने दुबै दरहरुमा अत्यधिक फरक छ । कोरोनाको बेलायती स्वरुपको पहिचान सन् २०२० को सेप्टेम्बर महिनामा पहिलो पटक भएको थियाे । त्यसपछि यो स्वरुप सय भन्दा बढी देशहरुमा पाइयो ।
यो कोरोना भाइरसको जेनेटिक कोडमा २३ म्युटेशनहरु पाइयो, जुन बाँकी अन्यको तुलनामा ठूलो संख्या हो । यसमा केही म्युटेशनहरुका कारणले यसको प्रसार अन्यको तुलनामा अझ बढी तिब्र रुपमा हुन्छ । वैज्ञानिकहरुका अनुसार यो स्वरुप पहिलाको डोमिनेन्ट स्वरुपभन्दा ४० देखि ७० प्रतिशत संक्रामक छ ।
बेलायतको ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित भएको उक्त अध्ययनका अनुसार बेलायती स्वरुपका ५४ हजार ९०६ संक्रमित मानिसहरुमध्ये २२७ जनाको निधन भयो, जबकि अन्य स्वरुपबाट संक्रमित त्यति नै मानिसहरुमध्ये केवल १४१ जनाको मात्र निधन भयो ।
अध्ययनले के भनेको छ भने एक त यो अत्यधिक घातक छ, त्यसमाथि यो अन्य कोरोना भाइरसको तुलनामा तिब्र रुपले फैलिन्छ ।
यसअघि पनि अघिल्लो वर्ष एउटा समुहले बेलायती स्वरुपसंग सम्बन्धित प्रारम्भिक अध्ययन बेलायत सरकार समक्ष प्रस्तुत गरिएको थियो, जसमा के भनिएको थियो भने यो स्वरुप अन्य स्वरुपको तुलनामा बढी खतरनाक छ ।
अहिले भरखरै सार्वजनिक भएको नयाँ अध्ययनको निष्कर्षले उक्त कुरालाई थप प्रमाणिकता मिलेको छ ।




















