कन्टिर–बाबूलाई कहिलेकाहीँ सिद्धान्त र व्यवहारबीचको भिन्नता छुट्याउन बडो सकस भइदिन्छ । उनलाई लाग्छ, अहिलेका नेताले भन्दा उनले कम बुझेका छन् । हो पनि, नेताले जति नै बुझेका भए त उनी पनि नेतै भइहाल्थे ।
तर कन्टिर–बाबू आफू आजका जस्ता नेता नभएकोमा भने खुसी छन् । टपरटुइँया नेता हुनुको कुनै अर्थ जो छैन ।
यता, कन्टिर–बाबूले नबुझेको कुरा नि, अहिले झप्रमलाल र ओल्बाबीच देखिएको विवाद कस्तो प्रकृतिको विवाद हो ? यो विवाद सिर्जित हुनुको धरातल के हो ?
झप्रमलालका अनुसार यो विवाद सैद्धान्तिक हो । तर खाक सैद्धान्तिक हुन्छ ‘ सब कुर्सीको झोल हो, त्यो पनि घुमुवा कुर्सीको । कन्टिर–बाबूका अनुसार झप्रमलालले पनि त्यही कुर्सीमा बसेर घुम्न, घुमेर अरूलाई हेर्न खोजेका त हुन् । तर सकेनन् । पाएनन् भन्दा पनि फरक पर्दैन ।
कवि भूपी शेरचनले घुमुवा कुर्सीको रहस्य धेरै पहिला बुझिसकेका थिए । उनले उहिल्यै देखेको कुरा लेखेका थिए– घुम्ने मेचमाथि बस्ने मान्छे टोटल्ली अन्धो हुन्छ । हो यो सत्ताको मेच माने कुर्सी हुन्छ नै यस्तो कि त्यसमाथि जो बस्छ त्यो आफ से आफ दृष्टिविहीन भइहाल्छ । नजर साफ अन्हराइहाल्छ । फिट्टो देख्दैन केही ।
तर मान्छे अन्धो हुन तयार छ, कुर्सी छोड्न तयार छैन । यो कुर्सी हुन्छ नै यति गद्दादार कि यसमा जो पनि बस्न चाहन्छ । गद्दादार कुर्सीका लागि गद्दार हुनसमेत तयार धेरै मान्छे देखेका छन् कन्टिर–बाबूले ।
कुर्सीका लागि मान्छे नैतिक–अनैतिक सबखाले काम गर्छ । जस्तो कि ओल्बाको चाल छ, जुन चालसँग एउटा हिन्दी डाइलग ‘हम तो डुबे है सनम तुमको भी ले डुबेगें’ हुबहु मेल खान्छ भन्छन् मान्छेहरू ।
अहिले झप्रम र ओल्बाहरूको प्रस्तुति र प्रवृत्ति पनि उही हो । भन्नलाई, दुनियाँको आँखामा धुल झोक्नलाई भन्छन्, जे यो विवाद सैद्धान्तिक हो, जनताका लागि हो, विधिका लागि हो, समृद्धिका लागि हो, विकासका लागि हो, समाजवादका लागि हो ।
तर भित्री रूपमा कन्टिर–बाबूले बात बुझेका छन्– अहिले सडकमा जे मेटनी–सो चलिरहेको छ, त्यो समाजवाद–माउवाद केहीका लागि होइन, कुर्सीवाद, खाउवादका लागि हो !
साभार : koshionline




















