आज मधेसमा बलिदानी दिवसको चहलपहल छ । सहिदले दिएको बलिदान अर्थात् जीवन उत्सर्गको क्षण सम्झेर आज दिनभर तगडा राजनीतिक प्रदर्शन, विमर्श र प्रतिबद्धता आदानप्रदान हुनेछ ।
तर कन्टिर–बाबू यो विषयमा सोच्दा–सोच्दै गम्भीर बनेका छन् । उनको मन–मस्तिष्कमा आज पनि २०६४ माघ ५ गतेको सम्झना ताजै छ । त्यही दिन लहानका रमेश महतो मधेस आन्दोलनका प्रथम सहिद भएका थिए । मधेस आन्दोलनका सन्दर्भमा महतोलगायत ५० भन्दा बढी मधेसी सहिद भए । उनीहरू सबैप्रति कन्टिर–बाबूको हार्दिक श्रद्धा र नमन छ ।
तर आज कन्टिर–बाबू मूल्याङ्कनको प्रयत्न गर्छन्– सहिदहरूको यो शहादत अर्थात् बलिदानको अर्थ आज के रह्यो ? मधेसले के पायो ? सोच्दा–सोच्दै कन्टिर–बाबू आक्रोशित मुद्रामा पुग्छन् र सोध्छन्– खोइ आज कहाँ गयो मधेसको मुद्दा ? खोइ एक मधेस एक प्रदेश ? खोइ पहिचानको सन्दर्भ ? खोइ सहिद र उनको परिवारलाई सम्मान ?
कन्टिर–बाबू आफैँ उत्तर दिन्छन्– सहिदको शालिक निर्माण, सहिद परिवारलाई राहत र रोजगारीका कुरामा त नेता भनाउँदाहरूले कमिसन खान्छन् भन्ने चर्चा चल्ने गरेको पृष्ठभूमिमा तिनबाट बढी के आस गर्नु ? आन्दोलन चर्काउन मधेसका कथित ‘मसिहा’हरूले सहिद परिवारलाई ५० लाख दिने कुरा उरालेको कन्टिर–बाबूको आफ्नै कानले सुनेका हुन् । खोइ कहाँ गयो त्यो प्रलोभन ? के भयो त्यो उक्साहट ?
मधेसमा एउटा भनाइ छ, ने ओ नगरी ने ओ ठाम । अर्थात् न त त्यो नगर भयो न त त्यो ठाउँ । मधेस आन्दोलन अहिले त्यही अवस्थामा पुगेको छ । न त मुद्दा छ, न कुनै योजना । मर्ने मरे, तिनको लासमाथि उक्लिएर शासन गर्नेले गरी नै रहेका छन्, तिनलाई बाल मतलब छैन ।
सहिदको भावना र तिनको परिवारको व्यथा कसले बुझ्ने ? रमेशको लास लुकाउनेहरू मन्त्री–सांसद बनेर सत्ताको स्वाद चाखेको, रमेशहरूलाई सहिद हुन लगाएर आफू भने सत्ताको चिलगाडीमा विदेश सयर गरेको कन्टिर–बाबूले यही आँखाले नदेखेका होइनन् ।
हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद ! अहिले मधेसको नाममा न त कुनै दल चर्चामा छ, न नेता नै मधेसवादी छन्, न मधेस केन्द्रित राजनीति बाँकी छ । किन यसो भयो होला ? कन्टिर–बाबूसँग यसको भने कुनै उत्तर छैन ।
कन्टिर–बाबू सोच्छन्– अझै कति र कसका लागि बलि दान दिन बाँकी छ मधेसका जनताले ?
उर्दूमा कुर्वानी, हिन्दीमा शहादत, नेपालीमा बलिदान ‘ आहा ! सुन्दा कति राम्रो, कति गम्भीर लाग्छ शब्दको गरिमा ‘ तर देश र जनताको समुन्नतिका लागि बलिदान दिने सहिदहरूको सपनाको भइरहेको अवमूल्यन ‘ उफ् ! सोच्दा पनि आङ सिरिङ्ङ हुन्छ ।
साभार : koshionline




















