एजेन्सी – स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई स्वदेश फर्के लगत्तै पक्राउ गरिएको छ ।
जर्मनीबाट मस्को फर्किएको केही समयमा उनलाई बिमान स्थलबाट नै प्रहरीले हिरासतमा लिइएको हो ।
रुसी सरकारका कट्टर आलोचक मानिएका ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको रुसी सरकारले पुष्टी गरेको हो ।
उनलाई स्वागत गर्न मस्कोको नुकोभो बिमानस्थलमा ठुलो भिड जम्मा भएपछि उनी चढेको विमान अन्यत्रै ओरालिएको थियो । विपक्षी नेता पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् ।
अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नाभाल्नीको पक्राउलाई ’अस्वीकार्य’ भनेका छन् ।
गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नाभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो । उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन् ।
तर क्रेमलीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । नाभाल्नी अगष्ट २० मा रुसको साइबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भिर विरामी भएका थिए ।




















