एजेन्सी – अफगानिस्तानको सर्वोच्च अदालतका २ जना महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।
सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा राजधानी काबुलमा आइतबार विहान आक्रमण गरी हत्या गरेको हो । गोली लागेर सवारी चालक घाइते भएका छन् ।
पछिल्ला आक्रमणहरु तालिबान समूहले गराएको आरोप सरकारले लगाउदै आएको छ । तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् ।
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने घोषणा गरेको २ दिन नबित्दै यो आक्रमण भएको हो ।
तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । सो आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।




















