काठमाण्डौं – काठमाण्डौं उपत्यकाको वायु प्रदूषणले खतराको तह पार गरेको छ ।
उपत्यकाको वायु प्रदुषण खतराको स्तर पार गरेको भन्दै सर्व साधारणहरुलाई घर बाहिर ननिस्कन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार सोमबार बेलुकी काठमाण्डौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो । सोमबार काठमाण्डौंको एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो । मंगलबार पनि वायु प्रदूषण अर्थात एक्यूआई ३१५ को हाराहारीमा छ ।
सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० भन्दा बढी भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ । काठमाण्डौंको आकाश ढाकेको तुवाँलोले मंगलबार पनि पूर्णरुपमा हटिसकेको छैन ।
आद्रतायुक्त वायुको गति कम हुँदा प्रदूषण बढेको बाताबरणविदहरुले बताएका छन् । पश्चिमी वायुको प्रभाव सक्रिय रुपमा भएर पानी परेमा अहिलेको प्रदूषण कम हुने उनीहरुको भनाइ छ ।
अब बिहीबारबाट मात्रै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकले सुझाव दिएका छन् ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन महाशाखाले सुझाव दिएको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न चिकित्सकले सुझाव दिएका हुन् ।
चिसोमा निमोनिया र कोरोना संक्रमणका कारण फोक्सोका विरामी बढिरहेका बेला देखिएको उच्चस्तरको बायु प्रदूषणले थप असर गराउनसक्ने उनीहरुको भनाइ छ ।




















