काठमाण्डौं – राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गरेका छन् ।
राष्ट्रियसभा अन्तर्गत संसदीय समितिका सभापतिसमेत रहेका विडारीले सरकारले पेश गरेको अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेका हुन् ।
विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले स्वीकार गर्न नमिल्ने दाबीसहित प्रस्ताव दर्ता गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २९ गते संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् ।
अध्यादेशमा परिषदमा बहुमतले निर्णय गर्न सक्ने व्यवस्थालाई हटाएर तीन जनामात्रै बैठकमा उपस्थित भए निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । अध्यादेश संविधानको मर्म विपरित आएको भन्दै विडारीले अस्वीकार गर्ने प्रस्ताव पेश गरेका हुन् ।
सो प्रस्तावका सम्बन्धमा राष्ट्रिय सभामा छलफल हुनेछ । संविधान अनुसार संसद बैठक बसेको दुई महिनाभित्र पास नभएमा अध्यादेश स्वतः खारेज हुने व्यवस्था छ ।




















