एजेन्सी – इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो युरेनियम संवर्द्धन कार्य पुनः शुरु गरेको छ ।
सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौताको विपरित इरानले युरेनियम संवर्द्धन थालेको हो ।
इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको बताएका हुन् । राष्ट्रपति हसन रुहानीले उक्त आदेश दिएको उनले बताए ।
संवर्द्धन गरिएको युरेनियम परमाणु बम बनाउन पनि प्रयोग हुन सक्नेछ । गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएपछि इरानको संसद्ले नयाँ कानुन पारित गरेको थियो ।
अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको एउटा जानकारीमा इरानको कदमको पुष्टि गरेको छ । केही विज्ञहरूले इरानको घोषणा जनवरी २० देखि सत्ता सम्हाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनलाई दवाब दिन गरेको जनाएका छन् ।
इरान पुरानै अवस्थामा फर्किए र थप सहमतिहरू गर्न तयार भए आफू पुनः उक्त सम्झौतामा सामेल हुनसक्ने बाइडनले बताएका छन् । अमेरिकाले इरानलाई धम्कीपूर्ण परमाणु अभियान चलाएको आरोप लगाएको छ । युरोपेली संघले इरानको परमाणु प्रतिबद्धताबाट निकै टाढा गएको बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले सैन्य परमाणु कार्यक्रम विकास गर्ने उद्देश्यले उक्त कदम चालेको प्रतिक्रिया दिएका छन् । सन् २०१८ मा अमेरिकालाई परमाणु सम्झौताबाट बाहिरिएपछि इरानले त्यसको प्रतिउत्तर दिने बताएको थियो ।




















