काठमाण्डौं – नेपाली कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोधमा प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले प्रदर्शन आयोजना गरेको हो ।
प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । कांग्रेस सभापति देउवाले भक्तपुरको कार्यक्रमलाई र वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
कांग्रेस अर्का नेता गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्मा भने काठमाण्डौं क्षेत्र नम्बर २ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् ।
कांग्रेसले काठमाण्डौंका १५ स्थानमा आज प्रदर्शन र सभा आयोजना गरेको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले अपिल प्रकाशित गरेर प्रदर्शनमा सहभागी हुन सबै लोकतन्त्रवादीलाई आग्रह गरेका छन् ।
कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेर आन्दोलन घोषणा गरेको हो । यसअघि मंसिर २९ गते कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।




















