काठमाण्डौं – चिनियाँ विशेष प्रतिनिधिमण्डलले आज पनि काठमाण्डौंमा राजनीतिक भेटवार्ता जारी राख्ने भएको छ ।
सत्तारुढ नेकपामा देखिएको विवादबारे बुझ्न आइतबार काठमाडौं आएको चिनियाँ टोलीले आज नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधब नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।
४ दिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।
टोलीको कम्युनिष्ट पार्टीबाहेकका प्रतिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खुलाइएको छैन । प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रम भने गोप्य राखिएको छ ।
आकस्मिकरूपमा काठमाण्डौं आएको चीनको विशेष प्रतिनिधिमण्डलले हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेपाल भ्रमणमा छन् । उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने व्यक्ति मानिन्छ ।
येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता नेपाल आएका थिए ।


