काठमाण्डौं – आन्दोलनरत उखु किसान र सरकार बीच आज दिउँसो वार्ता हुनु भएको छ ।
सिंहदरबारमा आन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयका पदाधिकारीविच वार्ता हुन लागेको हो ।
मन्त्रालयमा ३ः०० बजे हुने बार्तामा उखु किसानको मागप्रति सरकार सकारात्मक देखिएकाले वार्तामा बस्न लागेको उखु किसानहरुले जनाएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने रकम उपलब्ध गराउने ग्यारेन्टी सरकारले गराएमात्रै सहमति गर्ने अडानमा उखु किसान रहेका छन् ।
किसानहरुले उद्योग मन्त्रालयले सम्झौता भएको १५ दिनभित्र बाँकी रकम भुक्तानी हुनुपर्ने, भुक्तानी नदिएमा उद्योगीको सम्पति नियन्त्रणमा लिने प्रक्रिया शुरु गर्नुपर्ने माग राखेका छन् ।
भुक्तानीको पूरा विवरण सरकार र किसानलाई दिनुपर्ने पनि माग समेत राखिएको छ । विवादित रकमको लागि भने छानविन समिति गठन गर्नुपर्ने किसानहरुको माग छ ।
आन्दोलनरत किसानले चिनी उद्योगले ९० करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन् । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ ।
किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन शुरु गरेका छन् । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।


