एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी विधयेक अनुमोदन गरेको छन ।
सहायता कोषमा हस्ताक्षर गरेको विषयमा चर्को आलोचना भएपछि उनले राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका हुन् ।
सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका ट्रम्पले स्थानीय समय अनुसार आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन् ।
केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले त्यहिँ विधेयकमा हस्ताक्षर गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । सो विधयेकमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक शनिवारदेखि सरकारबाट पाउने राहतबाट वञ्चित भएका थिए ।
अमेरिकी संसदले सोमबार कोरोना प्रभावितलाई राहत दिन ९ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।
सर्वसाधारणलाई प्रदान गरिने खोप तथा विद्यालय पुनःसञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ । ९ महिनाअघि अमेरिकी सरकारले ल्याएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप गरिएको हो ।



