काठमाण्डौं – जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभा विघटनविरूद्ध आज काठमाण्डौंमा विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै जसपाले काठमाण्डौंमा प्रदर्शन गर्न लागेको हो ।
पार्टीका शीर्ष नेताहरुको उपस्थितमा काठमाण्डौंको रत्नपार्कमा प्रदर्शन हुन लागेको हो । रत्नपार्क शान्ति बाटिकाबाट जुलुस शुरु भई पुतली सडक हुँदै पुनः रत्नपार्कमा नै पुगेर कोण सभा हुने जसपाले जनाएको छ ।
सभालाई डा.बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम छ । शनिवार जसपाले देशैभरको जिल्ला सदरमुकाम सहित मुख्य शहरमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।
जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन समेत आग्रह गरिसकेको छ ।


