एजेन्सी – बलुचिस्तानका चर्चित राजनीतिक कार्यकर्ता एवं बलोच स्टुडेन्ट्स अर्गनाइजेसनकी पूर्वअध्यक्ष करिमा बलोच क्यानडामा मृत भेटिएका छन् ।
बीबीसीका अनुसार उनको शव क्यानडाको टोरोन्टोमा भेटिएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । करिमालाई सन् २०१६ मा बीबीसीले विश्वका प्रभावशाली १०० महिलामध्ये १ घोषणा गरेको थियो ।
करिमा बलोचका आफन्त र परिवारले उनको शव प्रहरीले अनुसन्धान गरिरहेको र त्यसपछि शव आफूहरूले जिम्मा लिने बताएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेसनलले पनि घटनाको दोषीलाई कारबाहीको माग गरेको छ ।
उसले ट्विट गर्दै भनेको छ ‘सामाजिक कार्यकर्ता करिमा बलोचको मृत्यु भएको खबरले दुःखी बनाएको छ । यसको तुरुन्त प्रभावकारी अनुसन्धान गरी दोषीलाई सजाय गर्न माग गर्छौं ।’
प्रहरीका अनुसार करिमा अन्तिमपटक गत आइतबार दिउँसो करिब ३ बजे देखिइएकी थिइन् । त्यसपछि हराएको करिमाको खोजीकालागि टोरन्टो प्रहरीले तस्बिरसहित आफ्नो वेबसाइटमार्फत सूचना जारी गरेको थियो ।
उनी क्यानडामा शरणार्थी बनेर बसेकी थिइन् । मृत्यु के कारणले भयो भन्नेबारे खुलेको छैन । क्यानडाजस्तो सुरक्षित देशमा भएको उनको मृत्युबारे गम्भीर अनुसन्धान हुनुपर्ने माग सामाजिक सञ्जालमा भइरहेको छ ।


