काठमाण्डौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
बालुवाटारमा मगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थप गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । बाँकी १९७ सदस्य पछि थप गर्ने बैठकले निर्णय गरेको छ । थप गरिएका केन्द्रीय सदस्यलाई भेलामै सपथ खुवाइएको थियो ।
भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी भित्रका उत्पन्न द्वन्द्वलाई पिलोसँग तुलना गरेका थिए । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपाल पक्ष नहुँदैमा केही फरक नहुने संकेत उनले गरे ।
जीवन शर्माको गीतको अंश गुनगुनाउँदै पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन भन्ने धारण ओलीले भेलामा राखेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने पनि बताएका छन् । पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने उनको भनाइ छ ।


