एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
उनले फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा लिएका हुन् । वाइडेनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन् । खोप लगाउने क्रममा उनले उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर आफुले खोप लगाएको बताए ।
खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । बाइडेनकी श्रीमती डाक्टर जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।
अमेरिकामा अहिलेसम्म २ वटा खोपले स्वीकृति पाएको छ । आइतबारदेखि मोडर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ । त्यसको १ हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो । अहिलेसम्म ५ लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।


