काठमाण्डौं – नेपाल पत्रकार महासंघले संसद् विघटन सिफारिस गर्ने सरकारी कदमलाई असंवैधानिक भनेको छ ।
महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लोकतन्त्र र नागरिक अधिकारका पक्षपातिलाई विरोध गर्न आग्रह गरिएको छ ।
संसद् विघटन गर्न सिफारिस गर्नुले नेपालको संविधान २०७२ र लोकतान्त्रिक गणतन्त्रको शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको जनाइएको छ ।
महासंघको विज्ञप्ति यस्तो छ
मिति : २०७७।०९।०५
प्रेस विज्ञप्ति
सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात हुन पुगेको छ ।
प्रधानमन्त्री ओलीको यो कदम २०६२- ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ । महासंघ प्रधानमन्त्रीको उक्त संविधानविपरीतको सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह गर्दछ । साथै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूमा यसको विरोध गर्न महासंघ आग्रह गर्दछ ।
रमेश विष्ट
महासचिव


