दिपायल – टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ ।
वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उनलाई जन्मकैद हुने फैसला गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या गरेको घटनामा दोषी देखिए पछि चौधरीलाई जन्मकैदको फैसलना भएको हो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने ४ जनाको सजाय भने घटाएको छ । यसअघि ३ वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण, प्रदीप, वीरबहादुर, राजेश, सीताराम र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, जकुमार कठरिया, बृजमोहन चौधरी र राजेश चौधरीको हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकोमा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।
त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ । कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्वीकारेका थिए ।
घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि ३ वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ । चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ ।
विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो ।
करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।


