काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आजका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् ।
अध्यादेश फिर्ता लिन बुधबार सहमत भएका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनुको साटो पुनः संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ६ः०० बजेको बैठकबारे जानकारी आएको भएतापनि सहभागिता भने नजनाउने नेपाली काँग्रेसले जनाएको छ ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेशलाई संवैधानिक, राजनीतिक तथा नैतिक तीनै दृष्टिबाट गलत भन्दै अविलम्ब खारेजीको माग गरेको थियो ।
सोही बैठकले अध्यादेशअनुसार संवैधानिक परिषद्बाट हुने नियुक्ति पनि आफूहरुलाई मान्य नहुने निर्णय गरेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधान र विधिको शासनको खिल्ली उडाउँदै अधिनायकवादतर्फको यात्रा थालेको भन्दै त्यसको विरोध कार्यक्रम तय गर्न लागेको कांग्रेसले प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएको समाचारपछि रोकिएको थियो ।


