काठमाण्डौं – नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष ३ स्थानमा पुग्न सफल भएका छन् ।
‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ।
साहले उत्कृष्ट ३ स्थानमा पुग्नका लागि भुटेको चिउरा, भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए ।
उनको पाककलाको निर्णयकहरुले समेत खुलेर प्रशंसा गरेका थिए । नेपालको सिरहाका साहले फाइनलमा पनि नेपाली खानाकै परिकार बनाउने तयारी गरेको जानकारी दिएका छन् ।
प्रतियोगिताको फाइनल आज (बिहीबार) हुँदैछ । अन्तिममा पुगेका ३ मध्ये १ जना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगितामा विभिन्न देशका ३२ जना सेफहरु सहभागी थिए ।


