सर्लाही/रौतहट – उखु किसानको बक्यौता रकम नतिर्ने २ चिनी उद्योगका संचालकविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिल र जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालकलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो ।
अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखिपठाएको प्रमुख जिल्ला अधिकारी सुदेन्द्र पौडेलले बताए ।
त्यस्तै श्रीराम सुगर मिलका संचालकविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला अदालतमा जाहेरी पेश भएता पनि आजको कार्यालय समय सकिएकोले भोली मात्र पुर्जी जारी हुने र तत्कालै प्रहरीलाई पक्राउ गर्न पत्र लेखिने उनले बताए ।


