एजेन्सी – जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिएका ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ ।
ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोकियो जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको हो ।
न्यायाधीश नोकुनी यानाले शिराइसो ९ जनाको हत्यामा दोषी देखिएको फैसलामा उल्लेख गरेका छन । फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि शिराइसीलाई पक्राउ गरिएको थियो । हत्या हुनेमा ८ जना महिला र १ जना पुरुष रहेका छन ।
उनले सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जना व्यक्तिको घाँटी रेटेर हत्या गरेका थिए ।
८ जना महिलामाथि उनले यौन उत्पीडनको आरोप पनि उनीमाथि थियो । शिराइसीले अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार गरेका थिए । उनले यसअघि नै आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आफू पुनरावेदनमा नजाने बताएका थिए ।




















