काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैत्र महिना देखी बन्द रहेको पशुपति मन्दिरमा आज क्षमा पुजा गरिएको छ । यो संगै भोली देखी सर्व साधारणका लागि मन्दिर खुल्ला हुने भएको छ ।
पशुपतिनाथ मन्दिरमा क्षमा पुजा संगै स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि सर्व साधारण का लागि खोल्न लागिएको हो ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।
नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज पशुपति प्राङ्गणमा विशेष पूजा आराधना सम्पन्न गरेको छ ।
लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा।मिलनकुमार थापाले बताए ।
चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब ७० करोड घाटा लागेको कोषले जनाएको छ ।
नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्व सदस्य सचिव डा.गोविन्द टण्डनले बताए ।


