एजेन्सी – भारतमा सत्तारुढ भारतीय जनता पार्टी ‘भाजपा’ का अध्यक्ष जेपी नड्डा सहित १० जना केन्द्रीय मन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण भएको छ ।
३ दिनअघि पश्चिम बंगालको भ्रमणबाट फर्किएलगत्तै अध्यक्ष नड्डालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भए लगत्तै नड्डा आइसोलेसनमा बसेका छन् । त्यस्तै गृहमन्त्री अमित साहलगायत १० जना मन्त्रीमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा ग्रामीण विकास राज्यमन्त्री साध्वी निरञ्जन, रसायन मन्त्री सदानन्द गौडा, परिवहन मन्त्री नितिन गडकरी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र महिला एवम् बालविकास मन्त्री स्मृति इरानी रहेका छन् ।
त्यस्तै सामाजिक न्याय राज्यमन्त्री रामदास आठवाले, मन्त्री प्रल्हाद जोशी, उद्योग राज्यमन्त्री अर्जुन मेघवाललाई पनि कोरोना संक्रमण भएको हो । कोरोना संक्रमणकै कारण रेल राज्यमन्त्री सुरेश अंगडीको भने उपचारको क्रममा मृत्यु भैसकेको छ ।
भारतमा हालसम्म ९८ लाख ९४ हजार भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण भारतमा १ लाख ४३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।


