एजेन्सी – अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो ।
पहिलो दिन विभिन्न राज्यका १४५ स्थानमा खोप लगाउने व्यवस्था मिलाइएको छ । भोली (मंगलबार) ४२५ स्थानमा खोप दिइने बताइएको छ ।
अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान शुरु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
पहिलो चरणमा ३० लाख नागरिकलाई खोप दिइनेछ । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास गरिएको छ । अमेरिकामा ३३ करोड जनसंख्या छ ।
फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म १ करोड ६७ लाख भन्दा बढी संक्रमित भएका छन् ।
संक्रमितमध्ये ३ लाखभन्दा भन्दा धेरैको मृत्यु भई सकेको छ ।


