काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज (सोमबार) ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि कांग्रेस सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन लागेको हो । देशभर हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय नेताहरु विभिन्न जिल्ला पुगी सकेका छन् ।
पार्टी सभापति देउवा हेटौडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौंमा नै सम्बोधन गर्नेछन् । त्यस्तै उपसभापति बिमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सह–महामन्त्री डा.प्रकाशशरण महत झापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्व महामन्त्री प्रकाशमान सिंहले धनुषामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै गरी पूर्व सहमहामन्त्री डा.रामशरण महत चितवन, अर्जुननरसिंह केसी कास्की, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सह महामन्त्री सुनीलबहादुर थापा धनकुटा पुगिसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउन आग्रह गरेका छन् । उनले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने बताएका छन् ।
उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको पनि बताएका छन् । कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने तयारी समेत पुरा गरेको छ ।


