काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (आइतबार)का लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले भोली बिहान ९ः०० बजेका लागि बोलाएको परिषद्को बैठकमा काँग्रेस सभापति देउवाले सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।
नेपाली काँग्रेसले मङ्सिर २९ गते सोमबार सरकारको विरोधमा गर्न लागेको प्रदर्शनको १ दिन अगाडी संबैधानिक परिषदको बैठक बोलाएको प्रति काँग्रेस नेताहरुले आशंका ब्यक्त गर्दैआएका छन् ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै काँग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलु या बाह्य कुनैपनी भेला, छलफल या बैठक, प्राथमिकतामा नरहने बताएका छन् ।
संबैधानिक आयोगहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, मानवाधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी ३ दर्जनभन्दा बढी पद रिक्त छन् ।
नियुक्तिको विषयमा प्रधानमन्त्री ओली र देउवाबीच पटक टक भएका छलफलबाट सहमति जुट्न नसकेपछि परिषदको बैठक प्रभावित हुदै आएको छ ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने संबैधानिक व्यवस्था रहेको छ ।
परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान रहेकाले देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक अन्यौलमा परेको छ ।


